धादिङ, असार २९ , २०८३
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक तथा नयाँ सदस्यता आवेदन अभियान अन्तर्गत धादिङ जिल्लामा १० हजारभन्दा बढीले आफ्नो सदस्यता अद्यावधिक गरेका छन्।
नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाका अनुसार निर्धारित समयभित्र जिल्लाभरबाट १० हजार ३१ जनाले क्रियाशील सदस्यता अध्यावधिक गरेका छन्। यसैगरी, नयाँ क्रियाशील सदस्यताका लागि २ हजार ७२८ जनाले आवेदन दिएका छन्।
पार्टीले पहिलो पटक क्रियाशील सदस्यताको आवेदन तथा नवीकरण प्रक्रिया वेबसाइटमार्फत समेत सञ्चालन गरेसँगै सदस्यहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको बताइएको छ। अनलाइन प्रणालीमार्फत सदस्यता अद्यावधिक गर्न सहज भएपछि ठूलो सङ्ख्यामा कार्यकर्ता तथा शुभेच्छुकहरू अभियानमा सहभागी भएका हुन्।
सहसचिव तिमल्सिनाले जिल्लाभरबाट प्राप्त आवेदनहरूको विवरण पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गरिएको जानकारी दिँदै सदस्यता सम्बन्धी थप प्रक्रिया पार्टीको निर्देशिकाअनुसार अगाडि बढाइने बताए।
क्रियाशील सदस्यता नेपाली कांग्रेसको संगठन निर्माण, आन्तरिक निर्वाचन तथा पार्टी गतिविधिमा सहभागी हुनका लागि महत्वपूर्ण आधार मानिन्छ। धादिङमा सदस्यता अध्यावधिक र नयाँ आवेदनको उत्साहजनक सहभागिताले पार्टी संगठन सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।
पालिका अनुसार विवरण:
🔹 रुबीभ्याली गाउँपालिका – २४८ जना
🔹 खनियाबास गाउँपालिका – ४३१ जना
🔹 गंगाजमुना गाउँपालिका – ४६६ जना
🔹 त्रिपुरासुन्दरी गाउँपालिका – ९९२ जना
🔹 नेत्रावती डबजोङ गाउँपालिका – ५२६ जना
🔹 ज्वालामुखी गाउँपालिका – १,३९८ जना
🔹 नीलकण्ठ नगरपालिका – २,८९४ जना
🔹 सिद्धलेक गाउँपालिका – ७०१ जना
🔹 बेनीघाट रोराङ गाउँपालिका – ४२४ जना
🔹 गजुरी गाउँपालिका – ४७७ जना
🔹 गल्छी गाउँपालिका – ४६९ जना
🔹 थाक्रे गाउँपालिका – ४०१ जना
🔹 धुनिबेसी नगरपालिका – ६२४ जना
✅ जम्मा अद्यावधिक भएका क्रियाशील सदस्य संख्या : १०,०३१ जना
नीलकण्ठ नगरपालिका सबैभन्दा बढी २,८९४ जना क्रियाशील सदस्यसहित अग्रस्थानमा रहेको छ भने ज्वालामुखी गाउँपालिकामा १,३९८ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा ९९२ जना क्रियाशील सदस्य रहेका छन्।






