धादिङ — नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। शुक्रबार सम्पन्न १७औं नगरसभा अधिवेशनले सर्वसम्मत रूपमा बजेट पारित गरेको हो।

नगरपालिकाले सार्वजनिक गरेको बजेटको कुल आकार एक अर्ब २२ करोड ९३ लाख ५ हजार रुपैयाँ रहेको छ। बजेटमार्फत सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र रोजगारी सिर्जनामार्फत समृद्ध नगर निर्माण गर्ने लक्ष्य लिएको छ।

बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख दीपक विश्वकर्माले संविधानमा उल्लेखित राज्यका निर्देशन सिद्धान्त, संघीय आर्थिक नीति, प्रदेश सरकारको नीति, दिगो विकास लक्ष्य, नगरवासीको माग, विज्ञ सुझाव र वर्तमान सीमित साधन स्रोतको मूल्याङ्कनका आधारमा बजेट निर्माण गरिएको जानकारी दिनुभयो।

बजेट अनुसार, चालु खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ ३५ करोड ६५ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

“समाजमा न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, पूर्वाधार बलियो बनाउन, शिक्षा र स्वास्थ्यको पहुँच वृद्धि गर्न तथा युवाका लागि रोजगारी सिर्जना गर्न बजेटले सहयोग गर्नेछ,” उपप्रमुख विश्वकर्माले बताउनुभयो।

नगरपालिकाले दीर्घकालीन रणनीतिक योजना, सार्वजनिक–निजी साझेदारी, डिजिटल सेवा विस्तार र सुशासन प्रवर्द्धनसमेत प्राथमिकतामा राखेको जनाएको छ।

नगरसभा बैठकमा नगरप्रमुख भीमप्रसाद ढुंगानाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राखी समावेशी र दिगो विकासको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

“यो केवल कागजी दस्तावेज होइन, नगर समृद्धिको स्पष्ट खाका हो,” प्रमुख ढुंगानाले भन्नुभयो। उहाँले नगरको स्रोत, आवश्यकता र जनभावनालाई आत्मसात गर्दै योजनाहरू कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0