धादिङ, – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर, अर्थात् नेपाल नजिक रहेको छ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा तथा अन्य भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा पनि हुन सक्ने सम्भावना छ।
विभागले अत्याधिक वर्षाका कारण पहिरो, बाढी, नदीनाला बढ्न सक्ने भएकाले सतर्क रहन सबैमा आग्रह गरेको छ। विशेषगरी नदी किनार, खोला आसपास तथा पहाडी क्षेत्रमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन सुझाव दिइएको छ।






