धादिङ – नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्वर्गीय भरत प्रसाद उप्रेतीको १३औं दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिने भएको छ।
![]()
नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको आयोजनामा साउन ८ गते, बिहीबार दिउँसो १ बजे धुनिबेसी नगरपालिका–७ स्थित नौबिसेचोकमा उक्त श्रद्धाञ्जली सभा सम्पन्न हुने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि विशेष उपस्थिति रहने बताइएको छ।
नेपाली कांग्रेस धादिङका कार्यवाहक सभापति गेहेन्द्रबहादुर मल्लका अनुसार स्व. उप्रेती नेपाली कांग्रेसको संगठन विस्तारमा समर्पित भई लामो समय सक्रिय रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
उनले जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्नुका साथै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएका थिए। स्व. उप्रेती २०८२ असार २८ गते ९७ वर्षको उमेरमा स्वर्गारोहण भएका थिए।
प्रजातान्त्रिक आन्दोलनमा समर्पित जीवन बिताएका उनी निष्ठा, आदर्श र त्यागका प्रतीकका रूपमा नेपाली कांग्रेस धादिङका लागि प्रेरणाका स्रोत रहँदै आएका थिए।






