अधिवक्ता   कृष्णराज अधिकारी

धर्म संस्कृति भनेको परम्परा देखि पूर्खाहरुले चलाई आएको मान्यता हो । अर्थात समाजलाई नैतिकतामा बांध्ने मियो हो । केहि दशक अगाडि सम्म पनि जस्तोसुकै गाह्रो सांघुरो पर्दा नि धर्म छोड्न हुंदैन भनिन्थ्यो । न्याय धर्ममा आधारित थियो भन्दा पनि हुन्छ । समाजको अगाडि तांमाको खड्करामा पसि भागवतको पुस्तक शीरमा राखि असत्यकुराहरु वकल्ने तागत कसैको हुंदैनथ्यो । अदालतमा समेत साक्षि वकपत्र गराउंदा ईश्वरको नाममा कसम खान लगाईन्थ्यो । अनि पो न्यायालयले पनि दूधको दूध पानीको पानी छुट्याउन सक्थ्यो त ! आआफ्ना भेषभुषा , कलाकौशल, भाषा संस्कृति र धर्मलाई आदर्शको रुपमा लिईन्थ्यो । एक आपसमा मेलमिलाम थियो । बाहिरी पाश्चात्य संसारको कुनै मतलवै थिएन ।

तर अहिले समय फेरिएको छ । सूचना र संचारको विकसित रुपले समग्र विश्व जगत नै एउटै घरपरिवार जस्तो भएको छ । हाम्रो भन्दा अरुहरुको राम्रो ठान्नाले दिनानुदिन पाश्चात्य छाडा संस्कारले हाम्रो पूर्वीय मूल्य र मान्यतालाई जगै देखि हल्लाई रहेको छ । ” सम्झिए नातागोता नसम्झे भ्यागुताका चेपागाडा ” ल भयो त अब ! बाउ आमादेखि छोराछोरी डराउन पर्ने अनि छोराछोरी देखि बाउ आमा ? कस्तो काल जमाना !

शहर बजारमा त के छ कुन्नी , गाउंघरमा अहिले पनि परम्परा देखि चल्दै आएको धर्म संस्कृतिलाई चट्टै छोड्न सकेका छैनन् । लोक लालचलाई देखाउन बुझाउन भने पनि जन्म देखि मृत्यू पर्यन्तका काजकामहरु गरी नै रहेका छन् ।

केहि समय अगाडिको कुरा हो गाउंमा टक्शारे बा को मृत्यू भयो । उमेरले नेटो काटीसकेका बुढाको मृत्यू सहज कालगतिले नै भएको हो । त्यस्तै दिनको एक दुई बजे तिर बुढाले छाडेछन् । खासै बिरामी नै नभै बितेकाले छोराहरु पनि आआफ्नो कमाईधमाईमा गएका हुंदा उनीहरु सबै जम्मा हुन समय लाग्ने नै भयो । सबै भाईहरु आईपुग्दा सम्म सांझ परीसकेको थियो । छोराहरुलाई दायां बायां राख्दै मलामीहरुले लाश उठाए । गाउघरतिर मलामीले लाश बोक्ने बखतमा खालि खुट्टा नै रहनु पर्ने चलन छ । छोराहरुले त जुत्ता चप्पल लगाउने कुरै भएन । टक्शारे बा का छोराहरु मध्ये सुर्के चन्दन अलि बेग्लै खालको धुन्दुकारी रहेछ । म अहिले सम्म खालि खुट्टाले हिडेको पनि छैन र हिड्न पनि सक्दिन त्यसैले जुत्ता लगाएर जान पाउं भन्दै मलामी आफन्तहरुसंग अनुरोध मात्र के गरेको थियो सारा मलामीहरुले ईल्लीबिल्ली पारीदिए । उ निच्च पर्दै खालि खुट्टै पछीपछी लाग्यो ।

उता चीतामा लाश जल्दै थियो यता क्रियापुत्रीहरुलाई मुण्डन गर्ने, सेतो वश्त्र धारण गर्ने , प्रेतात्मालाई अंजली पानी चढाउने काम पनि भैरह्यो । असारमाशको समय माथि माथि आकाशमा बादल मडारिदै चट्याङ सहित मेघ गर्जन लाग्यो । चारैतिर निष्पट्ट अन्धकार । सागर गएका मध्ये धेरैजसो मलामीहरु खाजा खाने ठाउंमा फर्कि सकेका थिए । क्रियापुत्रीहरुसंग त त्यहि १०,१५ जना मात्र । त्यसमा पनि सुर्के चन्दन चै छैन । यता खोजे उता खोजे कतै छैन ।  आकाशबाट पानी बर्षन थालिसकेको थियो । उतै अरुहरुसगै गयो होला त्यहा पनि नभए खोजौला भनि अगाडि बढे ।

खाजा खाने ठाउंमा आईपुग्दा त सुर्के चन्दन अरु मलामीहरु भन्दा पनि अगाडि आईसकेको रहेछ । उ त एकजना मलामी केटाको बाईक चढेर सरर टाप कसेछ । न बाईक चलाउनेलाई छोईछिटोको मतलव भयो न चढ्नेलाई नै । कस्तो जडशुत्रवादी धुन्दुकारी । आफ्नो पिताजी को मृत्यूमा पनि कतै समबेदना नभएको । क्रियापुत्री मलामी भन्दा अगाडि अगाडि मोटर बाईकमा आएको गाउँमा  यो पहिलो घटना थियो । अलि अगाडि सम्म जुत्ता लगाएर मलामी जान्छु भन्दै थियो अहिले त बाईकमै सरर । मलामीहरु पनि तिनछक परे । के गर्ने के भन्ने ? के हाम्रो धर्म संस्कृति मासिनै लागेको हो त ?  यस्तो घटनाले अबको समाजलाई कता तिर डोर्याउला ? यहि कुरा मनमा खेलाउदा खेलादै कुन बेला निदाएछु पत्तै भएन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0