नेपाली कांग्रेस धादिङबाट विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान सुरु

“काँग्रेसमा विशेष महाधिवेशनको माग : धादिङका १४ नेताले गरे हस्ताक्षर”

धादिङ, असोज २४ ।
भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि देशमा उत्पन्न विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेपाली कांग्रेस धादिङले पार्टीको विशेष महाधिवेशन आह्वानका लागि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

धादिङका १४ जना महाधिवेशन प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गर्दै पार्टीलाई बलियो, सक्षम र समयानुकूल “नयाँ काँग्रेस” बनाउन विशेष महाधिवेशन आवश्यक भएको निष्कर्ष निकाल्दै हस्तान्तरण गरेका हुन् ।

संयुक्त पत्रमा भनिएको छ, “जेनजी आन्दोलनपश्चात् उत्पन्न विशेष राष्ट्रिय राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई बलियो र नयाँ काँग्रेस बनाउनका लागि नीति, नेतृत्व र संगठन सम्बन्धी विषयमा ठोस निर्णय गर्नु अपरिहार्य भएकोले यथाशीघ्र विशेष महाधिवेशन आह्वान गरियोस्।”

नेपाली कांग्रेसको विधान २०७७ (संशोधनसहित) को धारा ७७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन बोलाउन माग गरिएको उक्त पत्रमा राकेश धमला, रमेश धमला, राजन बुर्लाकोटी, डेभिड घले, दुर्गा दाहाल, ईश्वर अधिकारी, सरिता तामाङ, शोभा छत्कुली, कल्पना अधिकारी, झंकनारायण श्रेष्ठ, नरेन्द्र भट्ट, वासुदेव तिमलसिना, लक्ष्मी गिरी र नारायणकुमार श्रेष्ठ लगायतले हस्ताक्षर गरेका छन्।

महाधिवेशन प्रतिनिधि ईश्वर अधिकारीका अनुसार, कांग्रेसलाई समयानुकूल रूपान्तरण गर्न र आन्तरिक असन्तुलन अन्त्य गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताए ।
“धादिङका नेताहरूले सुरु गरिएको यो अभियान केन्द्रीय तहमा बलियो आवाजको रूपमा अघि बढ्नेछ। कांग्रेसमा नीतिगत स्पष्टता र नयाँ नेतृत्वको दिशा तय गर्न विशेष महाधिवेशन आवश्यक छ।” अधिकारीले भने ।

यस अभियानको संयोजन नेपाली कांग्रेस धादिङका क्षेत्रीय सभापति राकेश धमलाले गरेका हुन्। उनले जिल्लाका अन्य प्रतिनिधि र कार्यकर्ताहरूसँग पनि निरन्तर परामर्श गर्दै अभियानलाई विस्तार गरिरहेको जनाएका छन्।

तर, धादिङका जिल्ला सभापति रामनाथ अधिकारी लगायतका केही नेताहरू भने विशेष महाधिवेशनको पक्षमा खुलेर नउत्रिएको स्रोतले बताएको छ।
स्रोतका अनुसार, कांग्रेसभित्र यस विषयमा आन्तरिक मतभेद देखिएको छ — एक पक्षले तत्काल विशेष महाधिवेशनको आवश्यकता औंल्याइरहेको छ भने अर्को पक्षले नियमित विधानसभामार्फत निर्णय गर्नुपर्ने बताईरहेका छन् ।

धादिङ लगायत देशैभरिका काँग्रेस महाधिवेशन प्रतिनिधिहरूले बिशेष महाधिवेशन काे माग गर्दै हस्तान्तरण अभियान चलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0