बेनी, म्याग्दी
मिति २०८२ माघ २१ गतेदेखि म्याग्दी जिल्लाको बेनीबाट सिधै भारतको राजधानी दिल्लीसम्म चल्ने बस सेवा औपचारिक रूपमा सुरु भएको छ। बेनी नगरपालिकाका प्रमुख सुरत केसीले एक कार्यक्रमका बीच उक्त बस सेवाको उद्घाटन गर्नुभएको हो।
मोडल ट्रुस एन्ड ट्राभल्सद्वारा सञ्चालनमा ल्याइएको यस बस सेवाबाट यात्रुहरूले करिब २७ घन्टामा दिल्ली पुग्न सक्नेछन्। बेनीबाट यात्राको भाडा रु ५२०० तोकिएको छ भने भारतबाट नेपाल फर्कँदा आईसीमार्फत पनि टिकट काट्न सकिने व्यवस्था गरिएको बेनीका सन्तोष गौतमले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा नगर प्रमुख केसीले बेनी–दिल्ली सिधा बस सेवाले नेपाल–भारतबीचको आवतजावतलाई थप सहज बनाउने बताउनुभयो। उहाँका अनुसार यस सेवाबाट भारतबाट मुक्तिनाथ दर्शनका लागि नेपाल आउने श्रद्धालुहरूलाई समेत ठूलो सहजता पुग्नेछ भने नेपाली नागरिकहरूलाई भारत यात्रा गर्न पनि सरल हुने अपेक्षा गरिएको , स्थानीय स्तरमै अन्तर्राष्ट्रिय बस सेवा सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धन, व्यापारिक गतिविधि र यात्रुहरूको सुविधामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।






