अरुण पौडेल , अष्ट्रेलिया
क्विन्डालुप, पश्चिमी अष्ट्रेलिया , फेब्रुअरी ५, पश्चिमी अष्ट्रेलियाको समुद्री तटमा घटेको एउटा साहसिक घटनाले विश्वभर चर्चा पाएको छ। १३ वर्षीय बालक अस्टिन एप्पलबी (Austin Appelbee) ले करिब ४ किलोमिटर पौडिएर सहयोग माग्न पुगेपछि समुद्रमा फसेको आफ्नो परिवारको ज्यान जोगिएको हो।
घटना गत शुक्रबार (३० जनवरी, २०२६) पर्थ सहरबाट बिदा मनाउन दक्षिण–पश्चिम क्षेत्रको क्विन्डालुप पुगेको बेला भएको हो। एप्पलबी परिवार—आमा जोआन, १२ वर्षीय भाइ ब्यू र ८ वर्षीया बहिनी ग्रेस—समुद्रमा कायक र प्याडल बोर्डमा रमाइरहेका थिए। तर अचानक आएको तीव्र हावा र ठूला छालले उनीहरूलाई किनारबाट करिब ४ किलोमिटर टाढा समुद्रको बीचमा पुर्यायो।
समुद्रमा कायकमा पानी भरिन थालेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो। यस्तो कठिन परिस्थितिमा ४७ वर्षीया आमा जोआनले जेठो छोरा अस्टिनलाई किनारतर्फ पौडिएर सहयोग माग्न पठाउने साहसी निर्णय गरिन्।
जोआनले भनिन्, “त्यो मेरो जीवनकै सबैभन्दा कठिन निर्णय थियो। तर मलाई विश्वास थियो—अस्टिन बलियो छ र उसले मात्र हामीलाई बचाउन सक्छ।”
४ घण्टाको संघर्ष : ‘जस्ट किप स्विमिङ’
अस्टिनले सुरुमा कायकमार्फत अघि बढ्ने प्रयास गरे पनि पानी भरिएपछि बीच समुद्रमै कायक छोड्नुपर्यो। पौडिन अवरोध बनेको भन्दै उनले लाइफ ज्याकेटसमेत फुकालेर खाली शरीरले विशाल छालसँग संघर्ष गरे।
अस्टिनका अनुसार, “छालहरू निकै डरलाग्दा थिए। थाकेको महसुस नगरोस् भनेर म आफ्नो दिमागमा थोमस द ट्याङ्क इन्जिन र स्कुलका साथीहरूको बारेमा सोच्दै थिएँ। आफैँलाई बारम्बार भनिरहेको थिएँ—‘पौडिरहनु छ, आज हार्नु हुँदैन।’”
करिब ४ घण्टाको निरन्तर पौडीपछि अस्टिन किनारमा पुगे। तर त्यतिमै संघर्ष सकिएन। अत्यन्त थकित अवस्थामा पनि उनी करिब २ किलोमिटर दौडिएर बसोबास गर्ने स्थान पुगे र आमाको मोबाइल प्रयोग गरी आपतकालीन सेवा (०००) मा फोन गरे।
उद्धार कार्य र प्रहरीको प्रतिक्रिया
अस्टिनको सूचनापछि पश्चिमी अष्ट्रेलिया प्रहरीको हेलिकप्टर र वाटर पुलिसले खोजी अभियान सुरु गर्यो। राति साढे ८ बजे, झण्डै १० घण्टा समुद्रमा बिताइसकेपछि, आमा जोआन र दुई साना भाइबहिनी किनारबाट करिब १४ किलोमिटर टाढा एउटा प्याडल बोर्डमा झुण्डिएको अवस्थामा सुरक्षित उद्धार गरिए।
पश्चिमी अष्ट्रेलिया प्रहरीका इन्स्पेक्टर जेम्स ब्राडलीले भने,
“यो बालकको साहसको जति प्रशंसा गरे पनि कम हुन्छ। उसको दृढ संकल्पले आज एकै परिवारका तीन जनाको ज्यान जोगिएको छ। यो साँच्चै असाधारण कार्य हो।”
स्वास्थ्य अवस्था
अहिले अस्टिनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अत्यधिक शारीरिक श्रमका कारण उनका खुट्टा सुन्निएका छन् र उनी वैशाखीको सहारामा हिँडिरहेका छन्। चिकित्सकहरूका अनुसार उनले गरेको शारीरिक मिहिनेत दुईवटा पूर्ण म्याराथन दौडिए बराबरको थियो।






