धादिङ, १६ फागुन २०८२
धादिङको राजनीतिमा निर्वाचन नजिकिँदै गर्दा आरोप–प्रत्यारोपको माहोल तातेको छ। यही बीच नेपाली कांग्रेस धादिङले ‘दियोपोस्ट’ अनलाइनमा लगातार प्रकाशित समाचारप्रति कडा आपत्ति जनाउँदै त्यसलाई योजनाबद्ध षड्यन्त्रको संज्ञा दिएको छ।

पार्टीले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्य तथा धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार रमेशप्रसाद धमला विरुद्ध प्रकाशित सामग्रीलाई “चरित्र हत्या गर्ने उद्देश्यले तयार पारिएको भ्रामक र तथ्यहीन प्रचार” भनिएको छ। फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै मतदातालाई भ्रमित पार्ने नियतले समाचार सम्प्रेषण गरिएको आरोप लगाएको छ।

विज्ञप्तिमा स्पष्ट शब्दमा भनिएको छ— सञ्चारमाध्यमको धर्म सत्य सूचना प्रवाह गर्नु हो, नकि राजनीतिक स्वार्थ पूरा गर्न कसैको छवि धुमिल बनाउनु।  “पार्टीले प्रेस स्वतन्त्रताको सम्मान गर्दै आएको दाबी गरे पनि स्वतन्त्रताको नाममा सुनियोजित ढंगले गलत सूचना फैलाउने काम स्वीकार्य नहुने”  धादिङ काँग्रेसका सभापति रामनाथ अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले धमलालाई प्रजातन्त्र पुनर्स्थापनादेखि हालसम्मका राजनीतिक संघर्षमा सक्रिय, संगठन निर्माणमा सक्षम तथा विकास र सामाजिक रूपान्तरणमा अगुवाइ गरेको नेताका रूपमा प्रस्तुत गर्दै उनीमाथि लगाइएका आरोपहरू पूर्णरूपमा आधारहीन भएको जिकिर गरेको छ। “जनताको बीचमा स्थापित व्यक्तित्वलाई बदनाम गराउने प्रयास लोकतान्त्रिक मूल्यविपरीत छ,” विज्ञप्तिमा उल्लेख छ।

पार्टीले आम मतदातालाई यस्ता “भ्रमपूर्ण र प्रायोजित” समाचारबाट प्रभावित नहुन आग्रह गरेको छ भने सम्बन्धित अनलाइनलाई पत्रकारिताको मर्यादा कायम राख्न कडा चेतावनीसमेत दिएको छ।

निर्वाचन नजिकिदै जाँदा केही दिन देखी दियो पोष्ट नामक अनलाईनमा “ऋण नतिरेको अभियोगमा कालोसूचिमा परेका थिए धमला, भएको थियो राहदानी जफत ! ”  “धादिङ २ का उम्मेद्वार धमलाका कार्यकर्ताद्वारा दियोपोस्टकर्मीलाई धम्की, कार्यालयको खोजी, धादिङ २ का कांग्रेस उम्मेदवार धमलाले धर्म सन्तानको नाममा डलर हिनामिना गरेको खुलाशा, लगायत शिर्षकमा समाचार प्रकाशित गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0