काठमाडौं, फागुन १३
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले स्वास्थ्य सेवाको विशेष तयारी गर्न आग्रह गरेको छ।
आयोगले स्वीकृत कार्यतालिका अनुसार निर्वाचनको व्यवस्थापकीय काम तीव्र रूपमा अघि बढिरहेको जनाएको छ। मतदाताको सार्थक सहभागिता सुनिश्चित गर्न मतदानको दिनअघि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णयसमेत नेपाल सरकारले गरिसकेको आयोगले उल्लेख गरेको छ।
मतदान प्रक्रियालाई व्यवस्थित बनाउन तहगत सरकार र सरोकारवाला निकायसँग सहकार्यको अवधारणाअनुसार मतदान केन्द्र कायम गरिएका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायत सरकारी संरचना तथा तिनमा रहेका भौतिक सम्पत्ति फागुन १९ देखि २१ गतेसम्म तीन दिन प्रयोग गर्न मिल्ने व्यवस्था गर्न आयोगले सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई पत्राचार गरेको छ। यस सम्बन्धमा गृह मन्त्रालयमार्फत आवश्यक समन्वयसमेत भइसकेको जनाइएको छ।
त्यसैगरी, मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता (फस्ट एड) सेवा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिइएको छ।
साथै, अत्यावश्यक तथा आपतकालीन उपचार सेवा सुनिश्चित गर्न देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि लेखी पठाइएको आयोगले जनाएको छ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सहयोग र समन्वय गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई निर्वाचन आयोगले आग्रह गरेको छ।






