२० फागुन, धादिङ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ जिल्लाका सबै मतदान स्थलमा तयारी पूरा भएको छ।
जिल्ला निर्वाचन अधिकारी शिब बहादुर गुरुङका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रमा आवश्यक मतदान सामग्री र जनशक्ति पुगिसकेको छ भने मतदानस्थल पनि पूर्ण रूपमा तयार भइसकेका छन्। “भोलि बिहानैदेखि निर्धारण गरिएको समयअनुसार मतदान सुरु हुनेछ,” उनले बताए।
मतदान सम्पन्न भएलगत्तै सबै क्षेत्रका मतपेटिका सम्बन्धित मतगणना स्थलमा ल्याइने तयारी गरिएको छ। भौगोलिक विकटताका कारण क्षेत्र नम्बर २ का केही दुर्गम स्थानबाट मतपेटिका ल्याउन भने केही समय लाग्न सक्ने गुरुङले जानकारी दिए।
मतगणना स्थलसमेत तयारी अवस्थामा रहेको जनाइएको छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने तारजाली र सीसी क्यामेरा जडान गरिएको छ। मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक आह्वान गरिने र त्यसपछि तुरुन्तै मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन अधिकारी गुरुङले बताए।
मतगणनालाई छिटो र व्यवस्थित बनाउन पर्याप्त जनशक्ति परिचालन गरिएको छ। गणना सुरु भएको २४ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।






