बाबुराम फ्यूबा
धादिङ, खनियाबास
फागुन २० , यही फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खनियाबास गाउँपालिका वडा नं. ३ अन्तर्गत श्री बृचेत माध्यमिक विद्यालय मतदान केन्द्रको सम्पूर्ण तयारी पूरा भएको छ।
मतदान अधिकृत छोईसाड तामाङले केन्द्रमा आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भएको जानकारी दिँदै मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गरिने बताउनुभयो। उहाँका अनुसार मतदानका लागि आवश्यक मतपेटिका, मतपत्र, मतदान कक्ष व्यवस्थापन, कर्मचारी खटावट तथा सुरक्षाको व्यवस्था मिलाइसकिएको छ।
मतदान केन्द्रमा मतदाताको सहज आवतजावतका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गरिएको र महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि विशेष सहजीकरणको व्यवस्था गरिएको मतदान अधिकृत तामाङले जानकारी दिनुभयो।
निर्वाचन आयोगले तोकेको समय अनुसार बिहानदेखि नै मतदान सुरु हुने जनाउँदै सबै मतदातालाई समयमै उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीको समन्वयमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने तयारी रहेको जनाइएको छ।






