धादिङ, वैशाख :- १७ बैशाष २०८३
सिद्धलेक गाउँपालिका–२ स्थित नलाङ स्वास्थ्य चौकीमा गएराति अज्ञात समूहले तोडफोड गरेको घटना सार्वजनिक भएको छ। उक्त घटनाले स्थानीय तहमा सुरक्षा अवस्था र आधारभूत स्वास्थ्य सेवाप्रति चिन्ता थपिएको छ।
स्थानीय स्रोतका अनुसार स्वास्थ्य चौकीका झ्याल, ढोका, फर्निचर तथा केही स्वास्थ्य सामग्रीमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि, क्षतिको यकिन विवरण र घटनाको कारणबारे अझै स्पष्ट भइसकेको छैन।
घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने स्वास्थ्य सेवा अवरुद्ध हुने जोखिम देखिएको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो गतिविधिलाई सार्वजनिक सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा हेरिएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ। संलग्न व्यक्तिहरूको खोजी भइरहेको र पहिचान भएपछि कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।






