कृष्ण बद्री पौडेल
नेपालको राजनीतिक तथा सामाजिक इतिहासलाई नियाल्ने हो भने केही वर्षहरू यस्ता देखिन्छन्, जसले राष्ट्रको दिशा नै परिवर्तन गरेका छन् । अझ विशेषगरी “२” मा अन्त्य हुने सालहरूले नेपालको इतिहासमा गहिरो प्रभाव छोडेका घटनाहरू बोकेको देखिन्छ । संयोग हो वा समयको चक्र, करिब १०/१० वर्षको अन्तरालमा देशले ठूला राजनीतिक, सामाजिक तथा प्राकृतिक परिवर्तनहरू भोग्दै आएको छ ।
२०२२ सालतिर नेपालमा पञ्चायती व्यवस्था थप मजबुत बन्दै गएको अवस्था थियो । दलविहीन शासन प्रणालीलाई संस्थागत गर्ने प्रयास तीव्र थियो । त्यसपछि २०३२ सालमा नेपाल अधिराज्यभर व्यापक रूपमा घरजग्गाको नापी कार्य सञ्चालन भयो । त्यसले भूमिको अभिलेखीकरण र स्वामित्व व्यवस्थापनमा ठूलो परिवर्तन ल्यायो ।
२०४२ साल नेपालको राजनीतिक इतिहासमा अर्को महत्वपूर्ण वर्ष बन्यो । सो वर्ष सत्याग्रह आन्दोलन चर्किएको थियो । त्यही क्रममा राजा वीरेन्द्रमाथि गोली प्रहार भएको घटना पनि चर्चित बन्यो । यसले तत्कालीन राजनीतिक अवस्थालाई थप संवेदनशील बनाएको थियो ।
त्यसपछि २०५२ सालमा नेपालमा सशस्त्र जनयुद्ध सुरु भयो । तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको युद्ध १० वर्षसम्म निरन्तर चल्यो । यस संघर्षका क्रममा १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए भने हजारौं नागरिक विस्थापित भए । देशको राजनीतिक संरचना नै परिवर्तन हुने आधार यही युद्धले तयार गर्यो ।
२०६२/०६३ को जनआन्दोलनपछि नेपाल गणतन्त्रतर्फ अघि बढ्यो र त्यसको महत्वपूर्ण उपलब्धिका रूपमा २०७२ सालमा नेपालको नयाँ संविधान जारी भयो । तर त्यही वर्ष देशले विनाशकारी भूकम्पको पीडा पनि भोग्नुपर्यो । वैशाख १२ गते गएको भूकम्पमा हजारौं नागरिकले ज्यान गुमाए, लाखौं घरहरू ध्वस्त भए र देश ठूलो मानवीय संकटमा परेको थियो ।
त्यसैगरी २०८२ साल पनि नेपालको इतिहासमा अर्को उथलपुथलपूर्ण वर्षका रूपमा दर्ज भएको छ । देशभर आन्दोलन चर्कियो, ७५ जनाभन्दा बढीले ज्यान गुमाए । त्यसपछि भएको निर्वाचनबाट झन्डै दुई तिहाइ बहुमतसहित एउटै दलको सरकार गठन भएको अवस्था छ । यसले फेरि एकपटक नेपालको राजनीतिक भविष्य र परिवर्तनको दिशाबारे बहस सुरु गराएको छ ।
यसरी हेर्दा “२” मा अन्त्य हुने सालहरू नेपालका लागि परिवर्तन, संघर्ष, आन्दोलन, प्राकृतिक विपत्ति र राजनीतिक मोडसँग जोडिएका देखिन्छन् । करिब दशक–दशकको अन्तरालमा हुने यी घटनाहरूले देशलाई नयाँ मोडतर्फ धकेलिरहेका छन् । इतिहासका यी संयोगहरू केवल समयको खेल हुन् वा परिवर्तनको संकेत, त्यो भविष्यले नै स्पष्ट पार्नेछ ।
लेखक : त्रिकोण खवर डटकमका प्रवन्ध निर्देशक समेत हुनुहुन्छ ।






