Penguins :-
पेङ्गुइन समुद्री चराहरू हुन्, जो विशेषगरी दक्षिणी गोलार्धका अत्यन्त चिसा क्षेत्रमा पाइन्छन्। कालो–सेतो शरीर, पौडी खेल्न मिल्ने फ्लिपरजस्ता पखेटा र समूहमा बस्ने बानीका कारण पेङ्गुइन संसारभरका मानिसका लागि आकर्षणको विषय बनेका छन्। उड्न नसक्ने भए पनि पानीभित्र ती अत्यन्त फुर्तिला र कुशल पौडीबाज मानिन्छन्। उनीहरूको जीवनशैली केवल प्राकृतिक सौन्दर्यको विषय मात्र होइन, मानिसका लागि प्रेरणा र जीवन–दर्शनको स्रोत पनि हो।
पेङ्गुइनहरू मुख्यतः अण्टार्कटिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा दक्षिण अमेरिकाका चिसा समुद्री क्षेत्रमा पाइन्छन्। Emperor Penguin सबैभन्दा ठूलो प्रजाति हो भने Little Blue Penguin सबैभन्दा सानो मानिन्छ। समुद्रमा माछा, साना झिँगा र अन्य जलचर खाएर बाँच्ने यी चराहरू आफ्नो जीवनको करिब ७० प्रतिशत समय समुद्रमा बिताउँछन् भने ३० प्रतिशत समय जमिनमा बिताउने गर्छन्। बच्चा कोरल्ने, हुर्काउने र समूहमा बस्ने काम उनीहरूले जमिनमै गर्छन्।
मैले २०८१ साल असार १० गते सहपरिवारसहित अष्ट्रेलियाको प्रसिद्ध Phillip Island भ्रमण गर्ने अवसर पाएँ। मेलबर्नबाट करिब १४८ किलोमिटर टाढा रहेको यो टापु “Penguin Parade” का लागि विश्वभर परिचित छ। साँझ पर्दै जाँदा समुद्रमा दिनभरि आहार खोज्न गएका पेङ्गुइनहरू समूह–समूहमा किनारतर्फ फर्किने दृश्य साँच्चिकै अद्भुत देखिन्थ्यो। साना–साना पेङ्गुइनहरू लस्करै जमिनतर्फ उक्लिँदै गर्दा हेर्दा यस्तो लाग्थ्यो, मानौँ उनीहरूले कुनै अनुशासित परेड गरिरहेका छन्।
समुद्रमा ती अत्यन्त छरितो र गतिशील देखिन्थे, तर जमिनमा भने दुई खुट्टाले सन्तुलन मिलाउँदै बिस्तारै हिँड्ने शैलीले सबैको मन जित्थ्यो। हजारौँ पर्यटकहरू समुद्र किनारमा बसेर उनीहरूको त्यो दृश्य अवलोकन गर्न उत्साहित देखिन्थे। प्रकृतिसँग जोडिएको त्यो क्षण केवल मनोरञ्जन मात्र थिएन, जीवन बुझ्ने एउटा गहिरो अनुभव पनि थियो।
पेङ्गुइनहरूको व्यवहारले मानिसलाई महत्वपूर्ण शिक्षा दिन्छ। दिनभरि समुद्रमा रहेर संघर्ष गरे पनि रात पर्दा उनीहरू आफ्नै बासस्थानमा फर्किन्छन्। उनीहरूले आफ्नो समूह, परिवार र जन्मथलो कहिल्यै बिर्सँदैनन्। यही व्यवहारले मानिसलाई पनि एउटा सन्देश दिन्छ— जीवनमा अवसर खोज्दै संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो जन्मभूमि, संस्कृति, परिवार र पहिचानलाई कहिल्यै बिर्सनु हुँदैन।
आज धेरै नेपालीहरू शिक्षा, रोजगारी, व्यापार र उज्ज्वल भविष्यको खोजीमा विदेशिएका छन्। संसार घुम्नु, सफलता हासिल गर्नु र आर्थिक उन्नति गर्नु सकारात्मक कुरा हुन्। तर आफ्नो देश, आफ्नो समाज र आफ्नै माटोसँगको सम्बन्ध टुट्न दिनु हुँदैन। अन्ततः मानिसले आफ्नो पहिचान र जिम्मेवारी सम्झिनुपर्छ। पेङ्गुइनले समुद्र रोजे पनि आफ्नो भूमि बिर्सँदैन; मानिसले पनि संसार जितेपछि आफ्नै देश सम्झिनुपर्छ।
पेङ्गुइनको जीवन केवल एउटा चराको कथा होइन, जिम्मेवारी, परिवारप्रतिको माया, समूहमा बाँच्ने संस्कार र जन्मभूमिप्रतिको निष्ठाको जीवन्त उदाहरण हो। प्रकृतिले कहिलेकाहीँ यस्ता साना जीवमार्फत मानिसलाई ठूला पाठ सिकाइरहेको हुन्छ। त्यसैले पेङ्गुइनलाई हेर्दा केवल रमाइलो दृश्य मात्र होइन, जीवन बुझ्ने प्रेरणा पनि देख्न सकिन्छ। 
लेखक : त्रिकोण खवर डटकमका प्रवन्ध निर्देशक समेत हुनुहुन्छ ।






