धादिङबेसी ,२०८३ असोज ३१ गते

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन आज धादिङबेसीस्थित क्रिक रिसोर्ट, शीतलबजारमा उद्घाटन गरिएको छ। समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा धादिङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गादेवी श्रेष्ठ, पूर्वमन्त्री रामनाथ अधिकारी, वाग्मती प्रदेशसभा सदस्यद्वय गोविन्द लम्साल र मायादेवी शर्मा, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम, जिल्ला प्रहरी प्रमुख सुमित खड्कालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

महाधिवेशनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, दुबई, बहराइन, कुवेतलगायत विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय धादिङ समाजका प्रतिनिधिहरूको सहभागिता रहेको छ। स्वदेश तथा विदेशमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक, आर्थिक तथा समग्र विकासमा सहकार्य गर्ने उद्देश्यले आयोजित महाधिवेशनलाई विशेष महत्त्वका साथ हेरिएको छ।

उद्घाटन समारोहकै अवसरमा अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा प्रकाशित ‘देश परदेश’ नामक स्मारिकाको विमोचनसमेत गरिएको छ। स्मारिकाले विदेशमा रहेका धादिङवासीका अनुभव, गतिविधि, योगदान र जिल्लासँगको सम्बन्धलाई अभिलेखीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्व, पत्रकार तथा समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महाधिवेशनले विदेशमा रहेका धादिङवासीको ज्ञान, सीप, पुँजी र अनुभवलाई जिल्लाको विकाससँग जोड्ने विषयमा छलफल गर्दै भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0