बद्री पौडेल ,धादिङबेसी , असोज ३१ , २०८३
बडादसैँ २०८३ को सप्तमी अर्थात् फूलपातीका अवसरमा धादिङको नीलकण्ठ नगरपालिका–१२ मा अवस्थित प्रसिद्ध देवी भैरवी मन्दिरमा आज बिहान विधिपूर्वक फूलपाती भित्र्याइएको छ। धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार आयोजित कार्यक्रममा फूलपाती भित्र्याउनुका साथै देवी भैरवीलाई बलिसमेत चढाइएको छ।
नीलकण्ठ नगरपालिका–१२ र वडा नं. ३ को संगम क्षेत्रनजिक रहेको देवी भैरवी मन्दिरमा आयोजित फूलपाती भित्र्याउने कार्यक्रममा पशुपति मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमित खड्कालगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र स्थानीय भक्तजनको उपस्थिति रहेको थियो।
धार्मिक विधिअनुसार मन्दिरमा फूलपाती भित्र्याएर पूजापाठ गरिएको थियो। मन्दिरका पुजारी ओमप्रसाद नेपाल र सहायक पुजारी शिवहरि भट्टले विधिपूर्वक पूजाआजा सम्पन्न गर्नुभएको थियो।
पशुपति मन्दिर क्षेत्र व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार बद्री प्रसाद लम्सालका अनुसार देवी भैरवी मन्दिरमा प्रत्येक वर्ष फूलपातीका दिन जिल्ला प्रशासन कार्यालयबाट फूलपातीसहितको डोली ल्याएर भित्र्याउने र बलि चढाउने परम्परा रहिआएको छ। सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि धार्मिक विधि र सांस्कृतिक महत्त्वका साथ फूलपाती भित्र्याउने कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो।
नेपाली हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँमा फूलपाती भित्र्याउने परम्पराले देवी दुर्गाको आराधना, शक्ति उपासना र धार्मिक आस्थालाई विशेष महत्त्व दिने गर्दछ। यस अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा फूलपाती भित्र्याएर विशेष पूजाआजा गर्ने चलन छ।
त्यसैगरी, गोरखा दरबारको दसैँघरबाट फूलपाती ल्याई धादिङको जीवनपुर हुँदै हनुमानढोकासम्म पुर्याउने ऐतिहासिक परम्परासमेत नेपाली सांस्कृतिक इतिहाससँग जोडिएको छ।
धादिङको देवी भैरवी मन्दिरमा प्रत्येक वर्ष आयोजना हुने फूलपाती भित्र्याउने कार्यक्रमले जिल्लाको धार्मिक तथा सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै आएको छ।







