धादिङ, २९ असोज,२०८३

सामाजिक सेवा, मानवीय सहयोग तथा सामुदायिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले लायन्स इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब अफ धादिङ समाज स्थापना भएको छ। सन् २०२६ अक्टोबर १४ (२०८३ असोज २८) मा चार्टर प्राप्त गरेको यस क्लबको संस्थापक अध्यक्षमा लायन डा. दिनेश रेग्मी चयन भएका छन्।

लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको प्रायोजनमा स्थापना भएको यस क्लबमा सामाजिक सेवा तथा मानवीय कार्यप्रति समर्पित २० जना चार्टर सदस्य आबद्ध भएका छन्। नवस्थापित क्लबले धादिङ जिल्ला तथा आसपासका क्षेत्रमा सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासका विविध कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।

नयाँ क्लबको नेतृत्व तथा पदाधिकारी

क्लबको संस्थापक अध्यक्षमा लायन डा. दिनेश रेग्मी रहेका छन्। त्यसैगरी, प्रथम उपाध्यक्षमा लायन इन्द्रबहादुर खतीवडा, द्वितीय उपाध्यक्षमा लायन अशोक खनाल, सचिवमा लायन डा. रेशमविक्रम सिञ्जाली, कोषाध्यक्षमा लायन डा. प्रियजन पाण्डे, सहसचिवमा लायन डा. अनिल गुरुङ र क्लब प्रशासकमा लायन पवित्रा लम्साल रहेका छन्।

त्यस्तै, सेवा कार्यक्रम अध्यक्षमा लायन डा. विजयबाबु धमला, सदस्यता अध्यक्षमा लायन अशोक वि.क., मार्केटिङ अध्यक्षमा लायन उद्धव रिजाल तथा क्लब निर्देशकमा लायन राजेश गुरुङ रहेका छन्।

क्लबका सदस्यहरूमा लायन कुमार आचार्य, लायन दीपककुमार श्रेष्ठ, लायन सीता विश्वकर्मा, लायन अर्पण पोखरेल, लायन सुशील लम्साल र लायन कृष्णकुमार भट्ट रहेका छन्।

क्लब स्थापनाको नेतृत्व तथा विस्तारमा लायन विक्रम विश्वकर्मा र लायन राजाराम रिजालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। त्यसैगरी, क्लबका संरक्षक तथा गाइडिङ लायनका रूपमा लायन कृष्णबहादुर पौडेल र लायन बद्री अधिकारी रहेका छन्।

नवस्थापित क्लबले स्वास्थ्य सेवा तथा जनचेतना अभिवृद्धि, रक्तदान, सामुदायिक स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, वृक्षरोपण, वातावरण संरक्षण, जलवायु परिवर्तनसम्बन्धी जनचेतना तथा विपद् प्रभावितलाई राहत र मानवीय सहयोग उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

त्यसैगरी, शिक्षा प्रवर्द्धन, छात्रवृत्ति वितरण, पुस्तकालय स्थापना तथा व्यवस्थापन र युवाको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने योजना क्लबले अघि सारेको छ। स्थानीय समुदायका आवश्यकता पहिचान गरी दिगो, प्रभावकारी र परिणाममुखी सेवामूलक गतिविधि सञ्चालन गर्ने क्लबको लक्ष्य रहेको संस्थापक अध्यक्ष लायन डा. दिनेश रेग्मीले बताएका छन्।

उनका अनुसार, समुदायमा विद्यमान सामाजिक समस्या समाधान गर्न स्थानीय सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै स्वास्थ्य, शिक्षा, वातावरण र मानवीय सहायताका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने क्लबको उद्देश्य रहेको छ।

‘हामी सेवा गर्छौँ’ भन्ने भावनालाई व्यवहारमा उतार्ने प्रतिबद्धता

लायन्स इन्टरनेसनलको मूल मन्त्र ‘We Serve’ अर्थात् ‘हामी सेवा गर्छौँ’ भन्ने भावनालाई आत्मसात् गर्दै लायन्स क्लब अफ धादिङ समाजले विपन्न, असहाय, सीमान्तकृत तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने लक्ष्य लिएको छ। समुदायमा सेवाभाव, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता अभिवृद्धि गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन क्लबले सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

नयाँ क्लबको स्थापनाले धादिङ जिल्लामा सामाजिक सेवा तथा मानवीय सहयोगका गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र दिगो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। स्थानीय समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै धादिङको सामाजिक तथा सामुदायिक विकासमा योगदान पुर्‍याउने दिशामा लायन्स क्लब अफ धादिङ समाज अघि बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0