बिश्वास सिलवाल

धादिङ, वैशाख २९  , २०८३
धादिङको सिद्धलेक गाउँपालिका–१ निवासी अरुण सिलवाल ले लगातार सातौँ सेमेस्टरसम्म ४ जीपीए प्राप्त गर्दै पोखरा विश्वविद्यालय मा टप गर्न सफल भएका छन्।

हाल स्कुल अफ इन्जिनियरिङ मा सिभिल इन्जिनियरिङ अध्ययनरत सिलवालले सातवटै सेमेस्टरमा उत्कृष्ट नतिजासहित ४ जीपीए हासिल गर्दै विश्वविद्यालयमै ऐतिहासिक रेकर्ड कायम गरेका हुन्। उनको यो उपलब्धि अहिले शिक्षा क्षेत्रमा चर्चाको विषय बनेको छ।

सिलवालले प्रत्येक सेमेस्टरमा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै विश्वविद्यालय टप गर्दै आएका छन्। अब उनी अन्तिम अर्थात् आठौँ सेमेस्टरमा पनि उत्कृष्ट नतिजा ल्याएर नयाँ इतिहास कायम गर्ने तयारीमा रहेका छन्।

धादिङको ग्रामीण परिवेशबाट आएका उनले मिन्दुका माध्यमिक विद्यालय बाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए भने कक्षा १२ अध्ययन बागेश्वरी माध्यमिक विद्यालय, मलेखुबाट पूरा गरेका हुन्। उत्कृष्ट नतिजाकै आधारमा उनले छात्रवृत्तिमा स्कुल अफ इन्जिनियरिङ मा अध्ययन गर्ने अवसर पाएका थिए।

अरुण सिलवालका अनुसार निरन्तर मेहनत, समयको सही व्यवस्थापन र लक्ष्यप्रतिको दृढ प्रतिबद्धताले आफूलाई यो स्थानसम्म पुर्‍याएको हो। उनले भने, “हरेक सेमेस्टरमा राम्रो नतिजा ल्याउने दबाब हुन्छ, तर नियमित अध्ययन र आत्मविश्वासले त्यसलाई सहज बनाउँछ। अब अन्तिम सेमेस्टरमा पनि उत्कृष्ट नतिजा ल्याएर नयाँ रेकर्ड कायम गर्ने लक्ष्य छ।”

उनको उपलब्धिलाई धादिङका विद्यार्थी, शिक्षक तथा स्थानीयवासीले गौरवको विषयका रूपमा लिएका छन्। ग्रामीण क्षेत्रबाट पनि मेहनत र लगनशीलताले राष्ट्रिय स्तरमै उत्कृष्ट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण अरुण सिलवाल बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0