धादिङ, १ जेष्ठ २०८३
त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नृसिंहधाममा एक महिने पुरुषोत्तम महामहोत्सव सुरु भएको छ । हरेक तीन वर्षपछि आउने पुरुषोत्तम (अधिक) महिनाको अवसर पारेर आयोजना गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले धार्मिक महोत्सवले धादिङको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले धर्मलाई मानव सभ्यता, संस्कृति र सत्यताको आधारका रूपमा व्याख्या गर्दै सत्य र मर्यादाको मार्ग अनुसरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नृसिंहधाममा जल अर्पण गर्दै उहाँले नेत्रावती र बुढीगण्डकी नदीको संगमस्थलमा अवस्थित यो धाम ऊर्जा, सभ्यता र आस्थासँग जोडिएको महत्वपूर्ण स्थल भएको उल्लेख गर्नुभयो । बुढीगण्डकी जलविद्युत् आयोजनाको जलाशय निर्माणका क्रममा धार्मिक तथा पर्यटन क्षेत्रको संरक्षण र व्यवस्थापनलाई डीपीआरमै समावेश गर्न पहल गरिने उहाँको भनाइ थियो । साथै प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा धार्मिक पर्यटन तथा जलाशय क्षेत्रसँग सम्बन्धित योजनालाई प्राथमिकता दिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
नृसिंहधामका पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मूल आयोजक समिति संयोजक फणिकान्त छत्कुलीले पुरुषोत्तम महिनाभर विभिन्न धार्मिक कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।
पीठाधीश ब्रह्मचारीका अनुसार महोत्सव अवधिभर श्रीमद्भागवत कथा, रामकथा, शिवमहापुराण, हनुमत कथा तथा श्रीमद् देवीभागवत कथालगायत दिव्य प्रवचन सञ्चालन गरिनेछ । मूल वाचक ईश्वर कृष्ण महाराजले एक महिनासम्म पुरुषोत्तम महात्म्य कथा वाचन गर्नुहुनेछ ।
महोत्सवमा ११ हजार शालिग्राम स्थापना गरिने, करिब एक लाख सिद्ध श्री लक्ष्मी–नृसिंह यन्त्र पूजा गरी भक्तजनलाई वितरण गरिने तथा १०८ तीर्थस्थलको पूर्णाहुति गरिने आयोजकले जनाएको छ । साथै २८ गोत्रका लागि छुट्टाछुट्टै हवन कुण्ड निर्माण गरिएको छ । श्रद्धालुले आफ्ना पितृका नाममा दीपदान तथा हवन गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
धार्मिक विश्वासअनुसार पुरुषोत्तम महिनामा स्नान, जप, तप, दान र दीपदान गरे अक्षय पुण्य प्राप्त हुने मान्यता रहिआएको छ । स्कन्दपुराणमा उल्लेख गरिएको नृसिंहधाम उत्खननका क्रममा लिच्छविकालीन पुरातात्त्विक अवशेष फेला परेकाले यो क्षेत्र धार्मिकसँगै ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । धार्मिक मान्यताअनुसार भक्त प्रह्लादद्वारा स्थापित १२ नृसिंह पीठमध्ये नेपालमा रहेको एकमात्र पवित्र पीठ यही नृसिंहधाम रहेको विश्वास गरिन्छ ।
महोत्सव प्रारम्भअघि सल्यानटारमा बाजागाजासहित कलश यात्रा निकालिएको थियो । महोत्सवको पहिलो दिनको अवसरमा त्रिपुरासुन्दरी गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो । आयोजकका अनुसार महोत्सवमा देशका विभिन्न भागबाट करिब १५ लाख श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ ।






