चोरीको प्रयास विफल पार्न खोज्दा श्रीमान्–श्रीमतीमाथि गोली प्रहार, दुवै घाइते
महोत्तरी, जेठ २० — महोत्तरीको सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका समूहसँग प्रतिवाद गर्दा एक दम्पती घाइते भएका छन्।
मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५/६ जना अपरिचित व्यक्तिलाई रोक्न खोज्दा २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। गोली लागेर दुवै जना घाइते भएका हुन्।
घटनापछि स्थानीयवासी र परिवारजनको सहयोगमा घाइते दम्पतीलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि जनकपुरस्थित अस्पतालमा रिफर गरिएको बताइएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको छ। गोली प्रहार गरी फरार भएका व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
शान्त रहेको बस्तीमा रातिको समयमा भएको गोली प्रहारको घटनाले स्थानीयवासी त्रसित बनेका छन्। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि सुरक्षा निकायले खोजी अभियान सञ्चालन गरिरहेको छ।