धादिङवेशी, धादिङ १ साउन  २०८३

वागमती प्रदेश सरकार अन्तर्गत धादिङमा रहेको साविकको ‘उद्योग तथा वाणिज्य कार्यालय’ को नाम र कार्यक्षेत्र परिवर्तन भएको छ। मन्त्रालयगत पुनर्संरचना र जिम्मेवारी हेरफेर भएसँगै यस कार्यालयको नाम परिवर्तन गरी ‘उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय’ राखिएको छ।

यसअघि यो कार्यालय वागमती प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय अन्तर्गत ‘उद्योग तथा वाणिज्य कार्यालय’ को रूपमा सञ्चालनमा थियो। अब भने यो कार्यालय वागमती प्रदेश सरकारको ‘उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय’ मातहत रहने गरी रूपान्तरण भएको हो।

कार्यालयको नामसँगै यसको सेवा र कार्यक्षेत्र पनि विस्तार भएको छ। अब धादिङवेशीस्थित यसै कार्यालयबाट उद्योग र वाणिज्य (व्यापार) सम्बन्धी नियमित कामहरूका अतिरिक्त पर्यटन र यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रशासनिक सेवा, दर्ता तथा नवीकरण लगायतका कामहरू समेत प्रवाह हुने बताइएको छ।

कार्यालय प्रमुखको भनाइ र ओएनएम (O&M) को पर्खाइ

हालका कार्यालय प्रमुख चुडामणि पुरीका अनुसार कार्यालयको कार्यक्षेत्र र जिम्मेवारी थपिएसँगै नयाँ संरचना अनुसारको काम प्रभावकारी बनाउने तयारी भइरहेको छ।

कार्यालय प्रमुख पुरीले भन्नुभयो, “कार्यालयको नयाँ दरबन्दी तेरिज प्राप्त भइसकेको छ, तर संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) स्वीकृत भई आउन बाँकी छ। केही दिनभित्रै ओएनएम स्वीकृत भएर आउनेछ, जसले कर्मचारी परिचालन र कार्य सम्पादनलाई थप व्यवस्थित बनाउनेछ।

कार्यालयको कार्यक्षेत्र थपिएसँगै जनशक्तिको व्यवस्थापनका लागि हाल १० जना कर्मचारीको दरबन्दी तेरिज  थप  भै तयार पारिएको छ। जसमा केही दरबन्दीहरू थप समेत गरिएका छन्:

 कार्यालय प्रमुख (प्रशासन/सा.प्र. – नवौं/दशौं तह): १ जना (नयाँ थप)

 शाखा अधिकृत / ब. शाखा अधिकृत (प्रशासन/सा.प्र. – सातौं/आठौं तह): १ जना

 नायब सुब्बा / स. अधिकृत (प्रशासन/सा.प्र. – पाँचौं/छैटौं तह): ५ जना (३ जना नयाँ थप)

 लेखापाल / स.ले. अधिकृत / अधिकृत (प्रशासन/लेखा – पाँचौं/छैटौं तह): १ जना

 मे.सु. / ब. मेकानिकल सुपरभाइजर (मेकानिकल – पाँचौं/छैटौं तह): १ जना (नयाँ थप – यातायात सेवाका लागि आवश्यक)

 कम्प्युटर अपरेटर / स. कम्प्युटर अधिकृत (प्रशासन/विविध – पाँचौं/छैटौं तह): १ जना

 हल्का सवारी चालक (मेकानिकल – तहविहीन): २ जना (१ जना नयाँ थप)

 कार्यालय सहयोगी (प्रशासन/सा.प्र. – तहविहीन): २ जना

जम्मा स्वीकृत दरबन्दी संख्या: १८ भएको छ । पुरानो दरवन्दीमा ८ जना रहेको छ ।

मन्त्रालय र कार्यालयको कार्यक्षेत्रमा भएको यो हेरफेरसँगै धादिङका सेवाग्राहीहरूले पर्यटन र यातायात सम्बन्धी कामहरूका लागि सहज रूपमा स्थानीय स्तरबाटै सेवा पाउने अपेक्षा गरिएको छ। ओएनएम स्वीकृत भएर आउनासाथ पूर्ण रूपमा विस्तारित सेवाहरू सञ्चालनमा आउने कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0