धादिङ, साउन ९ — आज हरिशयनी एकादशी देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। यस दिनदेखि भगवान् विष्णु क्षीरसागरमा चार महिनासम्म शयन गर्नुहुने धार्मिक विश्वासका कारण चतुर्मासको शुभारम्भ हुने गर्दछ।
वैदिक सनातन परम्पराअनुसार आज घर–घरमा तुलसीको बिरुवा तुलसी मोठमा सारेर विशेष पूजा आराधना सुरु गरिन्छ। आजदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म तुलसीको नियमित पूजा गर्ने चलन रहेको छ। एक महिनाअघि जेठ शुक्ल एकादशीका दिन राखिएको तुलसीको बिरुवा आज विधिपूर्वक मोठमा सार्ने परम्परा छ।
हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण मन्दिर तथा देशभरका विष्णु र नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ। भक्तजनहरूले भगवान् विष्णुको पूजा–आराधना गर्दै सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन्।
धार्मिक विश्वाससँगै तुलसीको वैज्ञानिक महत्व पनि रहेको बताइन्छ। तुलसीले वातावरणलाई स्वच्छ बनाउन सहयोग गर्ने, अक्सिजनको मात्रा बढाउन योगदान पुर्याउने तथा विभिन्न औषधीय गुण भएको वनस्पतिको रूपमा यसको प्रयोग हुँदै आएको छ।
चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीलाई कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदर (विष्णु)सँग प्रतीकात्मक रूपमा विवाह गराउने परम्परा रहेको छ। यही धार्मिक परम्पराले हरिशयनी एकादशीलाई हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्वको पर्वका रूपमा स्थापित गरेको छ।






