हेटौँडा, ७ साउन २०८३
बागमती प्रदेश सरकारले मन्त्रीहरूको कार्यविभाजन टुंग्याएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री बानियाँ नेतृत्वको ८ सदस्यीय मन्त्रिपरिषद्मा मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ। यससँगै प्रदेश सरकारले पूर्णता पाएको छ।
कार्यविभाजनअनुसार शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय तथा प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, सुरेश श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा बिनु रायमाझी पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका १४ मन्त्रालयलाई घटाएर ८ वटा मात्र कायम गर्ने निर्णय गरेको थियो। उक्त निर्णय साउन १ गतेदेखि कार्यान्वयनमा आए पनि सत्ता गठबन्धनको राजनीतिक समीकरणका कारण मन्त्रीहरू केही समय विना विभागीय रहँदै आएका थिए।
बुधबार नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना ६ जना मन्त्रीको सामूहिक राजीनामा गराएपछि रिक्त रहेका मन्त्रालयहरूमा मुख्यमन्त्री बानियाँले यसअघि विना विभागीय रहेका नेपाली कांग्रेसका मन्त्रीहरूलाई जिम्मेवारी तोकेका हुन्।
कार्यविभाजनसँगै बागमती प्रदेश सरकारले नयाँ संरचनाअनुसार मन्त्रालयहरूको जिम्मेवारी स्पष्ट गर्दै प्रशासनिक तथा विकाससम्बन्धी कामलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।






