काठमाडौं, साउन ६ ,२०८३
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनेजी प्रदर्शनका क्रममा घाइते भएका तर हालसम्म वर्गीकरण हुन बाँकी रहेका व्यक्तिहरूको वर्गीकरण प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढाउन देशभरका अस्पताललाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ।
गुणस्तर मापन तथा नियमन महाशाखाले बुधबार जारी गरेको परिपत्रमा ‘जेनेजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार उपचार गरिएका घाइतेहरूको वर्गीकरण कार्यमा अस्पतालहरूले आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ। मन्त्रालयले साउन ६ गतेको निर्णयअनुसार उक्त प्रक्रिया अघि बढाइएको जनाएको छ।
मन्त्रालयले सोही दिन अर्को सूचना जारी गर्दै हालसम्म वर्गीकरण हुन छुटेका घाइतेहरूलाई आवश्यक कागजातसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सरकारी अस्पतालमा सम्पर्क गरी वर्गीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
सूचनाअनुसार प्रत्येक जिल्लामा जिल्ला स्तरीय वर्गीकरण सहजीकरण समिति गठन गरिएको छ। समितिमा प्रमुख जिल्ला अधिकारी संयोजक रहनेछन् भने जिल्ला समन्वय समिति, सरकारी अस्पताल, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका प्रतिनिधिले सदस्य–सचिवको भूमिका निर्वाह गर्नेछन्।
मन्त्रालयका अनुसार सरकारी अस्पतालका प्रमुख वा मेडिकल सुपरिटेन्डेन्ट तथा उनीहरूले तोकेका दुई जना विशेषज्ञ चिकित्सकले घाइतेको वर्गीकरण तथा सिफारिस प्रक्रियामा भूमिका निर्वाह गर्नेछन्।
वर्गीकरण कार्यलाई प्रभावकारी बनाउन सबै सरकारी अस्पताललाई परिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ। साथै गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई समेत आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले वर्गीकरण हुन बाँकी रहेका सबै जेनेजी प्रदर्शनका घाइतेलाई ढिलाइ नगरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सरकारी अस्पतालमा सम्पर्क गरी प्रक्रिया पूरा गर्न पुनः अनुरोध गरेको छ।






