धादिङबेसी , ६ साउन २०८३
नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको आयोजनामा जननायक विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको ४४औँ स्मृति दिवस तथा “जरा अभियान” समापन कार्यक्रम आज धादिङबेसीस्थित वीपी भवनको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य उर्मिला थपलिया प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि सुशील भट्ट विशेष अतिथि तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
जिल्ला सभापति रामनाथ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तह र तप्काका नेता, जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले जननायक वीपी कोइरालाले स्थापित गरेको लोकतन्त्र, राष्ट्रियता, समाजवाद र मेलमिलापको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उहाँका आदर्शलाई व्यवहारमा उतार्दै संगठनलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।
यसै अवसरमा पार्टीले सञ्चालन गरेको “जरा अभियान” को समापन गर्दै अभियानबाट संगठनलाई गाउँ–टोलसम्म थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरिएको थियो। कार्यक्रम वीपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको स्मरणसहित सम्पन्न भएको थियो।






