बद्री पौडेल

धादिङबेसीको पुच्छार  बजार पुलछेउमा  पिपलको चौतारा रहेको छ ,  व्यस्त बजारको कोलाहल, गाडीको आवाज र मानिसहरूको हतारोबीच पनि त्यो चौतारा मौन रूपमा एउटा इतिहास बोकेर उभिएको छ। त्यहाँ पुग्दा लाग्छ—समय फेरियो, मानिस फेरिए, जीवनशैली फेरियो, तर प्रकृतिले आफ्नो कथा भने अझै त्यहीँ लेखिरहेकी छ।

कुनै समय यो चौतारा धादिङबेसी आउने–जाने यात्रुहरूको प्रमुख विश्रामस्थल पनि थियो।  भारी बोकेका भरियाहरूले डोको र नाम्लो बिसाउने ठाउँ थियो। गाउँबाट बजार झर्ने र बजारबाट गाउँ फर्किने मानिसहरू केहीबेर पिपलको शीतल छहारीमा बसेर थकाइ मेटाउँथे। बुढापाकाहरू गफिन्थे, यात्रुहरू चिनजान गर्थे र सामाजिक सम्बन्धहरू यस्तै चौतारामा  गाँसिन्थे।

पहिला पहिला चौत्तारामा माटोको ग्याम्पामा चिसो पानी राख्ने चलन थियो। बाटो हिँड्ने जो–कोहीले निःशुल्क पानी पिउन पाउँथे। तिर्खाएका यात्रुलाई पानी खुवाउनु ठूलो पुण्यको काम मानिन्थ्यो। त्यो केवल पानी राख्ने परम्परा थिएन, नेपाली समाजको सेवा, सद्भाव र संस्कृतिको जीवन्त उदाहरण थियो।

समय परिवर्तनसँगै सडक बने, सवारी साधनको पहुँच बढ्यो र चौतारामा बस्ने चलन हराउँदै गयो। आज मानिससँग केहीबेर विश्राम गर्ने समय पनि छैन। माटोको ग्याम्पा हराइसकेको छ, यात्रुहरू रोकिँदैनन्। तर मानिसले बिर्सिएको  चौतारालाई प्रकृतिले भने अझै छोडेकी छैन।

पुच्छार बजारको पिपलको रुख पहिले अझै  अग्लो थियो। करिब सात–आठ वर्षअघि आएको  हुरीबतासले यसको केही ठूला हाँगाहरू भाँचिदियो। त्यसपछि पनि यसको विशाल फेद यथावत् छ। भाँचिएका भागबाट नयाँ पालुवा र हाँगाहरू ( भाप्रा ) रुख फेरि अग्लो र हराभरा बनेको छ। आज पनि यसको टुप्पो निकै माथि पुगेको छ ।

रुख  अलि  अग्लो भएकाले बजारमा गाडी वा पैदल आवतजावत गर्ने अधिकांश मानिसको नजर रुखको टुप्पोसम्म पुग्दैन। त्यसैले माथि सयौँ बकुलाहरूको संसार बसेको कुरा धेरैलाई थाहा नै हुँदैन।

दिनको समयमा केही बकुलाहरू मात्र रुखमा देखिन्छन्। तर साँझ पर्न थालेपछि टाढाटाढाबाट सयौँ बकुलाहरू उड्दै यही पिपलमा आएर बास बस्छन्। रुखका हाँगैपिच्छे गुँड बनेका छन्। यहीँ अण्डा पार्छन्, बच्चा कोरल्छन् र वर्षौँदेखि यही पिपललाई आफ्नो स्थायी बासस्थान बनाएका छन्।

स्थानीय वासिन्दा केदार  कोइरालाका अनुसार बकुलाहरूले लामो समयदेखि यही रुखमा गुँड बनाएर प्रजनन गर्दै आएका छन्। यसले यो पिपल केवल एउटा रुख नभई बकुलाहरूको सुरक्षित प्राकृतिक आवास बनेको पुष्टि गर्छ।

यो दृश्यले एउटा गहिरो सन्देश दिन्छ। जुन चौताराले  मानिस लाई  शीतल छहारी, विश्राम र पानी दिएको थियो, आज त्यही चौताराले चराचुरुङ्गीलाई सुरक्षित आश्रय र नयाँ जीवन दिएको छ। सेवा गर्ने पात्र मात्र फेरिएको हो, सेवाको भावना भने उस्तै छ।

नीलकण्ठ नगरपालिका–८ को रमिते चौतारामा कागहरूको ठूलो बासस्थान छ भने पुच्छार बजार पुलछेउको पिपल चौतारा बकुलाहरूको सुरक्षित आश्रय बनेको छ। यसले हाम्रा पुर्खाले रोपेका बर–पिपलका रुख केवल यात्रुलाई छहारी दिनका लागि मात्र नभई प्रकृति र जीवजन्तुको दीर्घकालीन संरक्षणका आधार पनि रहेछन् भन्ने कुरा आज झन् स्पष्ट भएको छ।

आज विकासका नाममा पुराना चौतारा र सयौँ वर्ष पुराना रुखहरू मासिने क्रम बढ्दो छ। सडक फराकिलो बनाउनु आवश्यक छ, पूर्वाधार निर्माण पनि आवश्यक छ। तर विकास यस्तो हुनु हुँदैन, जसले प्रकृतिलाई नै विस्थापित गरिदियोस्। एउटा पुरानो पिपल काट्नु भनेको केवल एउटा रुख ढाल्नु मात्र होइन, सयौँ चराचुरुङ्गीको घर, गुँड, आउने पुस्ता र हाम्रो सांस्कृतिक स्मृतिलाई पनि समाप्त गर्नु हो।

पुच्छार बजार पुलछेउको यो पिपल चौतारा केवल एउटा चौतारा होइन। यो धादिङबेसीको इतिहास हो, यात्रुहरूको स्मृति हो, हाम्रो संस्कृतिको चिनारी हो र बकुलाहरूको सुरक्षित घर पनि हो।

अर्को पटक पुच्छार बजार पुग्नुहुन्छ भने केही क्षण हतार रोक्नुहोस्। चौतारातिर हेर्नुहोस्, अनि एकपटक रुखको टुप्पोतिर पनि नजर उठाउनुहोस्। दिनमा थोरै देखिने ती बकुलाहरू साँझ पर्दै जाँदा सयौँको संख्यामा यही रुखमा फर्किएको दृश्यले तपाईंलाई पनि सोच्न बाध्य बनाउनेछ—मानिसले बिर्सेको चौतारालाई प्रकृतिले अझै कति माया गरेर जोगाइरहेकी रहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0