काठमाडौं, साउन ५ ,२०८३
नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाइँ गरिरहेका बेला अचानक पहिरो खस्दा ६ जना किसान घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार रोपाइँका क्रममा माथिबाट आएको पहिरोले खेत बगाउँदा किसानहरू पुरिएका थिए। घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्ट को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
भट्टलाई पहिरोको बीचबाट उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल पठाइएको छ, जहाँ उनको उपचार भइरहेको छ।
प्रहरीका अनुसार पहिरो खस्न थालेको देखेपछि खेतमा रहेका धेरै किसान समयमै भाग्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।
घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ।






