धादिङ, साउन ५ ,२०८३

धादिङको खनियाबास गाउँपालिका–१ (साविक झार्लाङ) अन्तर्गत बर्म नाङ क्षेत्रमा साउन ३ र ४ गते गएको ठूलो पहिरोका कारण दुईवटा मुख्य खानेपानी आयोजनामा क्षति पुगेपछि करिब ६५० घरधुरी खानेपानी सेवाबाट प्रभावित भएका छन्।

झार्लाङका सिर्चन तामाङले त्रिकोण खबरलाई दिएको जानकारीअनुसार पहिरोले सुम्चेत र वाङ्हुबाट ल्याइने दुईवटा खानेपानी पाइपलाइन बगाएको छ। तीमध्ये सानो लाइनबाट खानेपानी वितरण हुने करिब १५० घरधुरी र ठूलो लाइनबाट सेवा पाउने झण्डै ५०० घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

तामाङका अनुसार यस क्षेत्रमा यसअघि पहिरो जाने कुनै संकेत वा जोखिम देखिएको थिएन। तर यस वर्ष एक्कासी ठूलो पहिरो गएपछि स्थानीयवासी त्रसित बनेका छन्। उनका अनुसार पहिरो अझै सक्रिय रहेकाले थप फैलिने जोखिम पनि कायम छ।

खानेपानीका मुख्य पाइपलाइन क्षतिग्रस्त भएपछि प्रभावित बस्तीका अधिकांश धारामा पानी आउन बन्द भएको छ। दैनिक उपभोगका लागि समेत पानीको अभाव भएपछि स्थानीयवासीले निकै सास्ती भोगिरहेका छन्।

स्थानीयका अनुसार पहिरो नियन्त्रणका लागि समयमै आवश्यक पहल नगरिए बस्ती, सडक, खानेपानीका संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत थप क्षति पुग्न सक्ने खतरा रहेको छ।

स्थानीयवासीले प्रभावित क्षेत्रको तत्काल स्थलगत निरीक्षण गरी पहिरो नियन्त्रण, जोखिम न्यूनीकरण तथा अवरुद्ध खानेपानी सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न सम्बन्धित निकाय र खनियाबास गाउँपालिकासँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0