धादिङ, साउन ५ ,२०८३
धादिङको धादिङबेसीस्थित भैरवी इन्टरप्राइजेज (भैरवी पेट्रोल पम्प) नेपालमै सबैभन्दा धेरै पेट्रोलियम पदार्थ बिक्री गर्ने पेट्रोल पम्पहरूमध्ये अग्रस्थानमा परेको छ। नेपाल आयल निगमको सार्वजनिक विवरणअनुसार वार्षिक कारोबारका आधारमा भैरवी इन्टरप्राइजेज देशका शीर्ष पेट्रोल पम्पहरूमध्ये पहिलो स्थानमा रहेको उल्लेख गरिएको छ।
नेपाल आयल निगमको तथ्यांकअनुसार भैरवी इन्टरप्राइजेजले एक अर्ब ९९ करोड ११ लाख ६० हजार २ सय ६६ रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ बिक्री गर्दै देशकै उच्च कारोबार गर्ने पेट्रोल पम्पका रूपमा आफ्नो पहिचान स्थापित गरेको हो।
वर्षौंदेखि गुणस्तरीय इन्धन, नियमित आपूर्ति, छिटो तथा भरपर्दो सेवा र ग्राहकमैत्री व्यवस्थापनका कारण भैरवी पेट्रोल पम्प धादिङवासी मात्र होइन, पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने हजारौँ यात्रु, सार्वजनिक तथा निजी सवारीधनीहरूको समेत पहिलो रोजाइ बनेको छ।
धादिङबेसीमा सञ्चालित यस पम्पले जिल्लाको यातायात, व्यापार, उद्योग तथा समग्र आर्थिक गतिविधिलाई सहज बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। इन्धनको नियमित उपलब्धता र विश्वासिलो सेवाका कारण यसले ग्राहकको उच्च विश्वास जित्न सफल भएको छ।
नेपाल आयल निगमले सार्वजनिक गरेको शीर्ष १० पेट्रोल पम्पको सूचीमा भैरवी इन्टरप्राइजेज पहिलो स्थानमा रहनुले धादिङको व्यावसायिक क्षमता र निजी क्षेत्रको योगदानलाई राष्ट्रिय स्तरमा स्थापित गरेको छ।
भैरवी पेट्रोल पम्प व्यवस्थापनले आगामी दिनमा पनि गुणस्तरीय सेवा, सुरक्षित इन्धन वितरण, पारदर्शी व्यवस्थापन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै सेवा विस्तार गर्ने जनाएको छ।






