धादिङवेशी, साउन २२ — वातावरण संरक्षणको सुरुआत आफ्नै घरआँगनबाट गर्नुपर्ने सन्देशसहित लायन्स क्लब अफ धादिङ–नीलकण्ठले ‘एक लायन, एक बिरुवा’ अभियान सञ्चालन गरेको छ। लायन्स डिस्ट्रीक्ट ३२५ के अन्तर्गत रहेको क्लबले डिभिजन वन कार्यालय धादिङसँगको समन्वयमा सदस्यहरूलाई बिरुवा वितरण गर्दै घरघरमा वृक्षरोपण अभियान अघि बढाएको हो।

कार्यक्रमअन्तर्गत डिभिजन वन कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा वन कार्यालयले लायन्स क्लबका अध्यक्ष पोषनाथ अधिकारीलाई औपचारिक रूपमा बिरुवा हस्तान्तरण गरेको थियो। त्यसपछि क्लबका सदस्यहरूले बिरुवा ग्रहण गरी आफ्ना घरआँगन तथा उपयुक्त स्थानमा रोपेका छन्।

क्लबका अध्यक्ष अधिकारीले वातावरण जोगाउने जिम्मेवारी प्रत्येक नागरिकबाट सुरु हुने बताउँदै घर वरपर हरियाली बढाउन सके त्यसको सकारात्मक प्रभाव समाज र देशभर पुग्ने विश्वास व्यक्त गर्नुभयो। “हामीले समाज परिवर्तनको कुरा गर्नुअघि आफ्नै घर र आसपासको वातावरणलाई स्वच्छ, हरियाली र सुन्दर बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा क्लबका सचिव दीपक सिटौला, कोषाध्यक्ष शरणकुमार श्रेष्ठ, ट्रेजरर गोविन्द भण्डारी, डिस्ट्रिक्ट सिनियर एओजी ईश्वरीप्रसाद पाण्डे, ईश्वरकुमार श्रेष्ठलगायत अन्य लायन्स सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

लायन्स क्लब्स इन्टरनेसनलले प्राथमिकता दिएका ‘ग्लोबल कज’मध्ये वातावरण संरक्षण प्रमुख क्षेत्रमध्ये एक हो। सोही अभियानलाई स्थानीय स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले क्लबले वृक्षरोपणलाई एकदिने कार्यक्रममा सीमित नराखी दीर्घकालीन अभियानका रूपमा अघि बढाउने जनाएको छ। यसका लागि वार्षिक कार्यतालिका तयार गरी नियमित रूपमा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको क्लबले जनाएको छ।

क्लबले अभियानमा सहभागी भई बिरुवा रोप्ने सबै सदस्यप्रति आभार व्यक्त गर्दै रोपिएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेको छ। साथै, कार्यक्रममा सहभागी हुन नसकेका सदस्यहरूलाई पनि क्लबसँग सम्पर्क गरी बिरुवा लगेर आफ्नै घर वा उपयुक्त स्थानमा रोप्न आग्रह गरिएको छ।

क्लबका अनुसार ‘एक लायन, एक बिरुवा’ अभियानले वातावरण संरक्षणमा जनचेतना बढाउनुका साथै हरेक सदस्यलाई हरियाली विस्तारको अभियानसँग प्रत्यक्ष रूपमा जोड्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0