काठमाडौं । नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ। यही क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन्।

भण्डारीको स्वरमा रहेको मौलिक तीज गीत ‘रानीहार’ शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। लोकप्रिय गीतकार डीपी खनालको शब्द, चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीत तथा विषम आचार्यको एरेन्जमा गीत तयार भएको हो।

‘रानीहार’ले तीज मनाउन महँगा सुनका गरगहना नै आवश्यक नपर्ने र आपसी माया, खुसी तथा आत्मीयताका साथ पर्व मनाउन सकिने सन्देश दिएको छ। गीतले विशेषगरी तीजको मौलिकता र पारिवारिक खुसीलाई जोड दिएको छ।

गीतको भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र गायिका भण्डारी स्वयंले अभिनय तथा नृत्य गरेका छन्। विशाल थापाको छायांकन र दीपक बिष्टको सम्पादन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन्।

गीत डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल ‘Dush Music’ मार्फत सार्वजनिक गरिएको हो।

२२ वर्षपछि गायन क्षेत्रमा फर्किएकी भण्डारीले उमेर प्रतिभा र सिर्जनशीलताका लागि बाधक नहुने बताएकी छन्। इच्छा, आत्मविश्वास र आफ्नो प्रतिभाप्रतिको विश्वास कायम राख्न सके जुनसुकै उमेरमा पनि नयाँ सुरुवात गर्न सकिने सन्देश दिन आफू पुनः गायनमा फर्किएको उनको भनाइ छ।

लामो समयपछि सांगीतिक क्षेत्रमा फर्किएकी भण्डारीको ‘रानीहार’लाई तीजको अवसरमा दर्शक तथा स्रोतामाझ आफ्नो पुरानो सांगीतिक यात्रालाई पुनः जोड्ने प्रयासका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0