बिश्वास सिलवाल ,धादिङ ,२०८३ साउन २५
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ मा पर्ने खहरे बजार कुनै समय आसपासका गाउँबस्तीको प्रमुख व्यापारिक तथा आवतजावतको केन्द्रका रूपमा परिचित थियो। अहिले भने त्यही खहरे बजार विगतको चहलपहल सम्झाउने ठाउँमा सीमित हुँदै गएको छ। अधिकांश पसलका सटर बन्द छन्, सडकमा मानिसको आवतजावत पातलिएको छ र बजारको पुरानो रौनक हराउँदै गएको देखिन्छ।
खहरे बजारको इतिहास भने आजको सुनसान दृश्यभन्दा निकै फरक छ। कुनै समय यो धादिङको उत्तरी क्षेत्रकै केन्द्रबिन्दु मानिन्थ्यो। आसपासका गाउँबस्तीबाट मानिसहरू दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीका लागि खहरे पुग्थे। व्यापारिक गतिविधिसँगै बजारमा मानिसहरूको बाक्लो आवतजावत हुने गर्दथ्यो।
शिक्षाको केन्द्र पनि थियो खहरे
खहरे बजार केवल व्यापारिक केन्द्र मात्र थिएन, यो आसपासको क्षेत्रको शैक्षिक केन्द्रका रूपमा समेत परिचित थियो। फूलखर्कको मण्डली माध्यमिक विद्यालयपछि उत्तरी क्षेत्रमै चर्चित विद्यालयका रूपमा रहेको अचने माध्यमिक विद्यालयमा त्यतिबेला अत्यधिक विद्यार्थी अध्ययन गर्ने गर्दथे।
गुणस्तरीय शिक्षाका कारण अचने मावि टाढाटाढाका विद्यार्थीको समेत रोजाइमा पर्ने विद्यालयमध्ये एक थियो। विद्यालय र बजारको गतिविधिले खहरेमा वर्षौंदेखि सामाजिक तथा आर्थिक चहलपहल कायम राख्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ।
२०४६/०४७ सालमै नेपाल बैंक स्थापना
खहरे बजारको पुरानो महत्व बुझाउने अर्को महत्वपूर्ण पक्ष हो—२०४६/०४७ सालतिरै नेपाल बैंकको स्थापना हुनु। त्यतिबेला ग्रामीण क्षेत्रमा बैंकिङ सेवा विस्तार हुनु आफैंमा ठूलो विषय थियो। बैंक स्थापना भएपछि खहरे आसपासका बासिन्दाले आर्थिक कारोबारका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म हटेको थियो।
यसले पनि खहरेलाई उत्तरी धादिङको आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र बनाउन सहयोग गरेको थियो।
पृथ्वीनारायण शाहको पालादेखिकै पैदल मार्ग
खहरेको महत्व आधुनिक सडक यातायात सुरु भएपछि मात्र बनेको भने होइन। स्थानीय इतिहासअनुसार पृथ्वीनारायण शाहको पालादेखि नै गोरखाबाट सल्यानटार हुँदै खहरे, आँखुको साउ तरेर चरङ्गे, कटुन्जे बजार हुँदै १५ कोष, थर्पु, भोग्टेनी, सामरी र त्रिशूलीतर्फ जाने पुरानो पैदल मार्गका रूपमा यो क्षेत्र चर्चित थियो।
त्यो समयमा मानिसहरू र सामानको आवतजावतका लागि यही पैदल मार्ग महत्वपूर्ण थियो। बाटोमा पर्ने खहरे स्वाभाविक रूपमा यात्रु तथा व्यापारीका लागि विश्राम, किनबेच र भेटघाटको केन्द्र बन्दै गएको देखिन्छ।
बहुदलपछि बस पुग्यो खहरेमा
२०४६ सालको राजनीतिक परिवर्तनपछि ग्रामीण क्षेत्रमा यातायात विस्तारको क्रम तीव्र भयो। बहुदल आएपछि धादिङ टारीबेसी हुँदै खहरेसम्म बस सेवा पुगेसँगै बजारको गतिविधि अझ बढेको स्थानीयहरू सम्झन्छन्।
बस पुगेसँगै आसपासका गाउँबाट मानिसहरूको आवतजावत सहज भयो। व्यापारिक कारोबार बढ्यो र खहरे बजारले आफ्नो पुरानो पैदल मार्गको महत्वलाई मोटर यातायातसँग जोड्दै नयाँ स्वरूप लियो।
बूढीगण्डकी आयोजनाले फेरियो बजारको भविष्य
तर पछिल्लो समय बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावले खहरे बजारको अवस्था नै परिवर्तन गरिदिएको छ। बजार तथा आसपासका बासिन्दाले आयोजनाका लागि जग्गा तथा सम्पत्तिको मुआब्जा लिइसकेपछि बजारमा लगानी, नयाँ व्यवसाय र स्थायी बसोबासको क्रम रोकिँदै गयो।
मुआब्जा प्राप्त गरेपछि धेरै परिवार अन्यत्र सरे। पुराना पसलहरू बन्द हुँदै गए। नयाँ व्यवसाय थपिएनन्। त्यसको प्रत्यक्ष प्रभाव खहरे बजारको चहलपहलमा परेको छ।
आज बजारमा रहेका पुराना घर, पसल र संरचनाले खहरेको विगत सम्झाइरहेका छन्। तर पहिले मानिसले भरिभराउ हुने सडक अहिले सुनसान देखिन्छ। धेरै सटरमा ताल्चा झुन्डिएका छन् भने कतिपय संरचनाको वरिपरि झारपात उम्रिएको छ।
इतिहास बोकेको बजारको भविष्य के होला ?
खहरे बजारको आजको अवस्था केवल एउटा बजार सुनसान भएको कथा होइन। यो पुरानो पैदल मार्ग, व्यापार, शिक्षा, बैंकिङ सेवा र ग्रामीण यातायातको इतिहास बोकेको एउटा महत्वपूर्ण बस्तीको परिवर्तनको कथा पनि हो।
कुनै समय उत्तरी धादिङको आर्थिक, शैक्षिक र सामाजिक केन्द्रका रूपमा रहेको खहरे अहिले बूढीगण्डकी आयोजनाको प्रभावपछि नयाँ भविष्यको प्रतीक्षामा छ।
खहरेको पुरानो चहलपहल फर्किने सम्भावना कति छ ? बजारको भौतिक संरचना र ऐतिहासिक पहिचानलाई कसरी संरक्षण गर्ने ? यी प्रश्नहरू अब स्थानीय तह, आयोजना प्रभावित क्षेत्र र सरोकारवाला निकायका लागि महत्वपूर्ण बनेका छन्।






