चितवन , २६ साउन ,२०८३

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुनः समायोजन गरेको छ। संघले उत्पादन लागत, बजारको माग तथा देशभरका अण्डा उत्पादक किसान र व्यवसायीबाट प्राप्त सुझावलाई आधार बनाएर नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

संघको चितवनमा २०८३ साउन २५ गते बसेको भौतिक तथा भर्चुअल बैठकले गरेको निर्णयअनुसार नयाँ मूल्य साउन २६ गतेदेखि लागू भएको हो।

नयाँ मूल्यअनुसार XL अण्डाको फार्म मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ। त्यस्तै ठूलो अण्डा प्रतिक्रेट ५५५ रुपैयाँ र मिडियम अण्डा प्रतिक्रेट ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ।

संघले उपभोक्ता तहमा अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँ उल्लेख गर्दै तोकिएको समर्थन मूल्यअनुसार कारोबार गर्न किसान, व्यवसायी तथा अन्य सरोकारवालालाई आग्रह गरेको छ।

पछिल्लो समय कुखुरापालन व्यवसायमा दाना, औषधि, श्रम तथा अन्य उत्पादन सामग्रीको लागत बढ्दै गएको किसानहरूको गुनासो छ। उत्पादन लागतअनुसार बजार मूल्य नपाउँदा किसानलाई व्यवसाय टिकाउन कठिन हुने भन्दै लागतअनुसार अण्डाको मूल्य कायम गर्नुपर्ने माग उठ्दै आएको छ।

यही अवस्थालाई ध्यानमा राखेर बजारको माग, आपूर्ति र उत्पादन लागतबीच सन्तुलन कायम गर्ने उद्देश्यले नयाँ समर्थन मूल्य निर्धारण गरिएको संघको भनाइ छ।

अण्डाको मूल्यमा हुने उतारचढावले किसानदेखि उपभोक्तासम्म प्रत्यक्ष प्रभाव पार्ने भएकाले संघले तोकेको मूल्य कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलद्वारा जारी सूचनामार्फत नयाँ समर्थन मूल्य सार्वजनिक गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0