भाद्र ६ ,२०८३
चितवनको खैरहनी नगरपालिका–१, तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब १२ः२३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र मोटरसाइकलको पछाडि सवार अन्दाजी २५/२६ वर्षीया महिला गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुवैको नाम, थर र ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
दुर्घटनापछि प्रहरीले बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केसहित बस र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






