धादिङ ,गजुरी ५ भाद्र ,२०८३
गजुरी गाउँपालिका–८ स्थित किराञ्चोक स्वास्थ्य चौकीमा अब प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा आउने भएको छ। गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा आवश्यक प्रयोगशाला सामग्री उपलब्ध गराइएपछि स्वास्थ्य चौकीबाट स्थानीयस्तरमै प्रयोगशाला सेवा प्रदान गर्न लागिएको हो।
प्रयोगशाला सामग्री हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रम गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्य तथा वडा नं. ८ का अध्यक्ष एवं किराञ्चोक स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष देवराज ओझाको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले “स्वास्थ्य नै धन हो। प्रयोगशाला सेवा किराञ्चोकवासीका लागि अत्यावश्यक भएकाले यो सेवा सुरु गर्न धेरै पहल गरिएको हो। अब यहाँका बासिन्दाले स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता कम हुने र राहत महसुस गर्ने अपेक्षा गरेको छु। आगामी दिनमा स्वास्थ्य सेवा अझ विस्तार गर्दै लगिनेछ,” भन्नुभयो।
प्रयोगशाला सेवा सञ्चालनमा आएपछि किराञ्चोक तथा आसपासका स्थानीयवासीलाई सामान्य स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। स्थानीयस्तरमै आवश्यक परीक्षणको सुविधा उपलब्ध हुँदा समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ।
कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य चौकी व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, शिक्षक तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
किराञ्चोक स्वास्थ्य चौकीबाट बलराम रम्तेलले दिएको जानकारीअनुसार गाउँपालिकाको सहयोगमा प्रयोगशाला सामग्री हस्तान्तरण भएसँगै स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनको तयारी अघि बढाइएको हो। स्थानीयवासीका लागि लामो समयदेखि आवश्यक रहेको प्रयोगशाला सेवा सुरु हुन लागेकोमा किराञ्चोकवासीमा खुसी छाएको छ।






