धादिङ । धादिङ अस्पतालमा कुकुरले टोकेपछि आवश्यक पर्ने Rabies Immunoglobulin (RIG) सेवा पहिलोपटक सुरु भएको छ। यससँगै रेबिजविरुद्धको उपचारका लागि धादिङ अस्पतालमै Anti-Rabies Vaccine (ARV) सँगै आवश्यकताअनुसार RIG समेत उपलब्ध हुने भएको छ।
यसअघि अस्पतालमा Anti-Rabies Vaccine (ARV) सेवा मात्र उपलब्ध थियो। कुकुर वा अन्य सम्भावित रेबिज संक्रमित जनावरले टोकेको अवस्थामा RIG आवश्यक पर्ने बिरामीलाई थप उपचारका लागि काठमाडौं जानुपर्ने अवस्था थियो। अब भने उक्त सेवा धादिङ अस्पतालमै उपलब्ध भएपछि बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ।
RIG सेवा विशेषगरी रेबिजको उच्च जोखिममा रहेका अवस्थामा चिकित्सकको मूल्यांकनअनुसार प्रयोग गरिन्छ। समयमै आवश्यक उपचार सुरु गर्न सकिएमा रेबिजबाट हुने जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्।
कुकुरले टोकेको अवस्थामा घाउलाई तत्काल साबुन र बग्ने पानीले राम्ररी धुनुका साथै ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। चिकित्सकको सल्लाहअनुसार Anti-Rabies Vaccine र आवश्यक परे Rabies Immunoglobulin (RIG) लगाउनुपर्ने हुन्छ।
धादिङ अस्पतालमै RIG सेवा सुरु भएपछि जिल्लाका बिरामीले समयमै आवश्यक उपचार पाउने र उपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।






