बाजुरा , ५ भाद्र ,२०८३
बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। आवश्यक जनशक्ति, औषधि र उपकरणको पूर्ण व्यवस्थापन हुन नसके पनि गाउँमै अस्पताल सञ्चालन भएपछि स्थानीयवासीलाई सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।
गौमुल गाउँपालिकाले भदौ ३ गतेदेखि १० शय्याको आधारभूत अस्पतालबाट सेवा सुरु गरेको हो। अस्पतालको बुधबार गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले औपचारिक उद्घाटन गरेका हुन्। अस्पताल भवन निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि सेवा सञ्चालनमा आएको हो।
पूर्वाधार तयार भए पनि विद्युत्, औषधि, उपकरण र आवश्यक जनशक्ति व्यवस्थापनमा भएको ढिलाइका कारण अस्पताल सञ्चालनमा समय लागेको अध्यक्ष रोकायाले बताए। अहिले उपलब्ध स्रोतसाधन र जनशक्तिबाट सीमित सेवा सुरु गरिएको र क्रमशः आवश्यक जनशक्ति तथा उपकरण थप गर्दै सेवा विस्तार गरिने उनको भनाइ छ।
अस्पतालमा मेडिकल अधिकृतसहित २२ जना कर्मचारी रहने व्यवस्था छ। तत्काल चिकित्सक उपलब्ध हुन नसकेपछि उपलब्ध जनशक्तिबाट सेवा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका उपाध्यक्ष सीता थापाले अस्पताल सञ्चालनसँगै सामान्य उपचारका लागि सदरमुकाम मार्तडी वा अन्यत्र पुग्नुपर्ने स्थानीयको बाध्यता कम हुने बताइन्। उनका अनुसार यसअघि स्वास्थ्यचौकीबाट सीमित सेवा मात्र लिँदै आएका नागरिकले अब पालिकामै थप स्वास्थ्य सुविधा पाउने वातावरण बनेको छ।
यता, जगन्नाथ गाउँपालिकाले जुड्डीमा निर्माण गरिएको १० शय्याको आधारभूत अस्पताल २०८० चैतदेखि नै सञ्चालन गर्दै आएको छ। ११ करोड ७८ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण भएको अस्पतालमा भने अझै आवश्यक जनशक्ति र उपकरणको अभाव रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीले बताए।
उनका अनुसार २०८२ चैतदेखि मेडिकल अधिकृतको एक पद रिक्त छ। उक्त पदमा चिकित्सक नियुक्त गर्न गाउँपालिकाले तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ।
सरकारले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई स्थानीय तहमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अघि सारेको थियो। तर बाजुराका अधिकांश स्थानीय तहमा यो कार्यक्रम अझै पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन।
जिल्ला सदरमुकामस्थित बडीमालिका नगरपालिकाले वडा नं. ७ चुथीमा १० शय्याको अस्पताल निर्माण सम्पन्न गरिसकेको छ। नगरप्रमुख अमरबहादुर खड्काका अनुसार अस्पताल सञ्चालनको तयारी भइरहेको छ।
बुढीगङ्गा नगरपालिकामा भने १५ शय्याको अस्पताल निर्माणको काम पाँच वर्षदेखि अलपत्र छ। जिल्लाका अन्य स्थानीय तहमा पनि आधारभूत अस्पताल निर्माण तथा सञ्चालनको प्रक्रिया पूरा हुन सकेको छैन।
गौमुलमा अस्पताल सञ्चालनमा आएसँगै दुर्गम गाउँका नागरिकले सामान्य जाँच तथा उपचारका लागि समेत सदरमुकाम मार्तडी वा धनगढीसम्म धाउनुपर्ने अवस्थाबाट केही राहत पाउने अपेक्षा गरिएको छ। तर अस्पताल सञ्चालनलाई प्रभावकारी बनाउन चिकित्सकसहित पर्याप्त जनशक्ति, औषधि र उपकरणको नियमित उपलब्धता भने मुख्य चुनौतीका रूपमा देखिएको छ।






