धादिङ, भदौ ९ ,२०८३
लायन्स क्लब अफ धादिङ भैरबीको मुख्य आयोजनामा मंगलबार नीलकण्ठ नगरपालिका–३ स्थित शहीद मेमोरियल अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ५ जना महिलासहित विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहजनक रूपमा रक्तदान गरेका छन्। रक्तदानमा लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरू, पत्रकार, कर्मचारीलगायतको सहभागिता रहेको थियो।
धादिङमा विगतमा पुरुषहरूले मात्रै रक्तदान गर्ने गरेको भए पनि पछिल्लो समय महिलाहरू पनि रक्तदानमा सक्रिय हुन थालेको नेपाल रेडक्रस सोसाइटी धादिङका कोषाध्यक्ष नारायणकुमार श्रेष्ठले बताउनुभयो। मंगलबारको कार्यक्रममा पनि महिलाहरूको राम्रो सहभागिता रहेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ तामाङ, नेपाल पत्रकार महासंघ धादिङका सभापति सीताराम अधिकारी, पूर्वसभापति राजाराम शर्मा, राष्ट्रिय समाचार समिति (रासस) धादिङकी दीपा लम्साल, लायन्स इन्टरनेशनल ३२५ आईका रिजन चियर्स पर्सन कृष्ण शिशिर, जोन चियर्स पर्सन बद्री अधिकारीलगायतको आतिथ्यता रहेको थियो।
रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङ र शहीद मेमोरियल अस्पताल धादिङले गरेका थिए।
कार्यक्रम लायन्स क्लब अफ धादिङ भैरबीका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ कृष्ण बद्री पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।
रक्तदान कार्यक्रमले बिरामीका लागि आवश्यक रगतको अभाव पूर्ति गर्न सहयोग पुग्नुका साथै महिला तथा युवाहरूलाई समेत नियमित रक्तदानका लागि प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।






