धादिङ, ११ भदौ ,२०८३

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि धादिङका ८८ जना अझै सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका नागरिक बाढीपछि सम्पर्कविहीन भएका हुन्।

पालिकागत विवरणअनुसार नीलकण्ठ नगरपालिकाका २३ जना सबैभन्दा बढी सम्पर्कविहीन छन्। त्यस्तै रुबीभ्याली गाउँपालिकाका १३ जना, खनियाबास गाउँपालिकाका ९ जना, धुनीबेँसी नगरपालिकाका १० जना, बेनीघाट रोराङ गाउँपालिकाका ८ जना, गल्छी गाउँपालिकाका ७ जना तथा थाक्रे र सिद्धलेक गाउँपालिकाका ६–६ जना सम्पर्कविहीन रहेका छन्।

त्यसैगरी गजुरी गाउँपालिकाका २ जना, नेत्रावती डबजोङ गाउँपालिकाका २ जना, गङ्गाजमुना गाउँपालिकाका १ जना र ज्वालामुखी गाउँपालिकाका १ जना सम्पर्कविहीन रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।

बाढीले धादिङमा ५ वटा पक्की पुल र १२ वटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ। जिल्लामा हालसम्म २५ वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये २० वटा शव व्यवस्थापनका लागि पोखरा पठाउने तयारी भइरहेको प्रशासनले जनाएको छ।

बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्गसँग सदरमुकाम धादिङबेँसीको सडक सम्पर्कसमेत प्रभावित भएको छ। सडक सञ्चालनका लागि वैकल्पिक मार्गको मर्मतसम्भार भइरहेको छ। मलेखुस्थित फुर्केखोलामा बाढीले पुल बगाएपछि सो स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया समेत अघि बढाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार राजमार्ग क्षेत्रमा अवरोध हटाउने तथा सडक मर्मतको काम जारी रहे पनि तत्कालै पूर्ण रूपमा राजमार्ग सञ्चालनमा आउने अवस्था छैन। प्रभावित सडक तथा पुल पुनःसञ्चालनका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको उहाँले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0