काठमाडौं , १२ भाद्र ,२०८३
नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा सम्भावित हिमनदी विस्फोटका कारण प्रभावित समुदायका लागि लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) ले करिब ३ करोड ८ लाख रुपैयाँ बराबरको राहत सहयोग उपलब्ध गराउने भएको छ।
LCIF ले विपद् प्रभावितको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ लाख अमेरिकी डलर बराबरको ‘मेजर क्याटास्ट्रोफी ग्रान्ट’ प्रदान गरेको हो।
प्राप्त सहयोग स्थानीय लायन्स क्लबहरूमार्फत प्रभावित परिवारसम्म पुर्याइनेछ। खाद्यान्न, सुरक्षित आश्रय, स्वास्थ्य सेवा, कपडा तथा अन्य अत्यावश्यक सामग्री वितरणसँगै विपद्पछि प्रभावित समुदायको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणका काममा समेत सहयोग परिचालन गरिने जनाइएको छ।
विपद्का कारण सयौँको ज्यान गएको र हजारौँ मानिस बेपत्ता भएको अवस्थामा प्रभावित परिवारलाई तत्काल मानवीय सहयोग आवश्यक रहेको लायन्सले जनाएको छ। घरबार गुमाएका तथा विस्थापित परिवारको आधारभूत आवश्यकता पूरा गर्न राहत अभियानलाई तीव्र बनाइने बताइएको छ।
लायन्स इन्टरनेसनलका डाइरेक्टर राजन लाम्सालले विपद्का बेला राहतको गति नै सबैभन्दा महत्वपूर्ण हुने बताउँदै प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन लायन्स विश्वव्यापी रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उनले विपद् प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी निकाय, सामाजिक संघसंस्था, दातृ निकाय तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए।
“विपद्मा सहयोग पर्खिँदैन, सहयोगको सुरुवात तपाईंबाट हुन्छ,” लाम्सालले भने।
लायन्स क्लब्स इन्टरनेसनल र LCIF ले प्राकृतिक विपत्तिमा परेका समुदायलाई आपत्कालीन राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्म निरन्तर सहयोग गर्दै आएको जनाएको छ।
यसैबीच, लायन्सले विपद् राहत अभियानमा सहयोग गर्न विश्वभरका सदस्य, दातृ निकाय तथा शुभेच्छुकहरूलाई आह्वान गरेको छ। प्राप्त सहयोगलाई प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा उनीहरूको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन परिचालन गरिने जनाइएको छ।
नेपाल–चीन सीमा क्षेत्रमा भएको पछिल्लो विपद्का बीच लायन्सको यो सहयोगले तत्काल राहतसँगै प्रभावित समुदायको पुनःउत्थान र पुनर्निर्माणका लागि आशाको आधार तयार गर्ने अपेक्षा गरिएको छ।






