रसुवा ,१२ भाद्र ,२०८३

रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा संघीय सरकारको प्रत्यक्ष उपस्थिति कमजोर देखिएको गुनासो गर्नुभएको छ।

बाढीबाट वेत्रावती, कैदलेटार, पैरेबेसी, सल्लेटार र मैलुङ क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताउँदै अध्यक्ष अर्यालले तत्काल उद्धार, उपचार, राहत तथा शव व्यवस्थापनमा राज्यको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताउनुभयो।

बाढीका कारण कर्मचारी, कार्यपालिका सदस्य, शिक्षक तथा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र कामदारसमेत सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो। सडक र विद्युत् सम्पर्क विच्छेद हुँदा उद्धार तथा राहत कार्यमा थप कठिनाइ भएको उहाँको भनाइ छ।

गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टरको प्रतीक्षा गर्दागर्दै तत्काल उद्धार हुन नसकेपछि करिब १० घण्टापछि मात्र धुञ्चे अस्पताल पुर्‍याउनुपरेको अध्यक्ष अर्यालले बताउनुभयो। नदी किनारमा दर्जनौँ शव रहेको र शव व्यवस्थापनमा समेत समस्या भइरहेको उहाँको भनाइ छ।

हाल करिब ३५० प्रभावित नागरिकलाई नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा राखिएको छ। कालिका र नौकुण्ड गाउँपालिकाले खाद्यान्नलगायत सामग्री उपलब्ध गराएर सहयोग गरिरहेका छन्। तर बिरामी, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि थप विशेष सहयोग आवश्यक रहेको अध्यक्ष अर्यालले बताउनुभयो।

अध्यक्ष अर्यालले भन्नुभयो, “हामीले मैदानबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ। जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी राज्यको उपस्थिति भने अत्यन्त कमजोर देखिएको छ।”

उहाँले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर प्रभावित नागरिकको जीवन जोगाउने काममा केन्द्रित हुन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। “अहिले हामीलाई भाषणभन्दा उद्धार, पोस्टभन्दा उपचार, बैठकभन्दा राहत र आश्वासनभन्दा राज्यको प्रत्यक्ष उपस्थिति चाहिएको छ,” उहाँले भन्नुभयो।

अध्यक्ष अर्यालले बेपत्ताको खोजी, घाइतेको उद्धार तथा उपचार, शव व्यवस्थापन, खाद्यान्न तथा औषधि आपूर्ति र घरबारविहीन नागरिकका लागि सुरक्षित आवासको व्यवस्था तत्काल गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0