धादिङ, सिद्धलेक (बुङचुङ) १२ भाद्र ,२०८३
आज जनै पूर्णिमाको पावन अवसरमा सिद्धलेक गाउँपालिका–बुङचुङमा हिन्दू धर्मावलम्बीहरूले विधिपूर्वक जनै मन्तर्ने तथा नयाँ जनै धारण गर्ने परम्परा सम्पन्न गरेका छन्।
यस दिन पुरोहितबाट वैदिक मन्त्र उच्चारण गरी जनै अभिमन्त्रित गर्ने गरिन्छ। मन्त्रद्वारा शुद्ध पारिएको जनै धारण गर्दा शरीर, मन र कर्मको शुद्धता कायम हुनुका साथै आध्यात्मिक संरक्षण र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ।
हिन्दू संस्कारमा जनैलाई ज्ञान, अनुशासन, कर्तव्य र धार्मिक जिम्मेवारीको प्रतीक मानिन्छ। विशेष गरी उपनयन (व्रतबन्ध) गरेका पुरुषहरूले प्रत्येक वर्ष जनै पूर्णिमाका दिन पुरानो जनै फेरेर मन्त्रिएको नयाँ जनै धारण गर्ने परम्परा रहेको छ।
साथै, यसै अवसरमा हातमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परालाई पनि निरन्तरता दिइएको छ। पुरोहितले वैदिक मन्त्रोच्चारणसहित बाँधिदिने रक्षासूत्रले सम्पूर्ण विपत्ति र नकारात्मक शक्तिबाट रक्षा गर्ने जनविश्वास छ।
आधुनिकताको प्रभावसँगै मौलिक परम्पराहरू ओझेलमा पर्दै गएको समयमा पनि सिद्धलेक–बुङचुङका स्थानीयवासीले आफ्ना धार्मिक तथा सांस्कृतिक धरोहरलाई जीवन्त राख्दै यो परम्परालाई निरन्तरता दिँदै आएका छन्।






