बिश्वास सिलवाल ,चितवन , १३ ,भाद्र २०८३

रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बेत्रावती प्रहरी चौकी नै बगाउँदा पौडेल बेपत्ता भएका थिए।

नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव चितवनमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार शवको पोस्टमार्टमपछि परिवारले जिल्ला अस्पताल चितवनबाट बुझेका छन्।

पौडेलले धादिङको सेमजोङ प्रहरी चौकीमा २०७६ सालदेखि २०७९ सालसम्म प्रहरी हवल्दारका रूपमा कार्यरत रही सेवा गरेका थिए। सेमजोङमा कार्यरत रहँदा उनले स्थानीयवासीसँग राम्रो सम्बन्ध कायम गर्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको स्थानीय बताउँछन्।

त्यसैगरी, कोरोना महामारीका समयमा पौडेलले पुर्‍याएको योगदानलाई नेत्रावती डबजोङ गाउँपालिकाले सधैँ सम्झिरहने तत्कालीन स्वास्थ्य शाखा प्रमुख तथा सूचना अधिकारी कृष्ण बद्री पौडेल बताउनुहुन्छ।

कृष्ण बद्री पौडेलका अनुसार कोरोना महामारीको कठिन समयमा सुरक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यमा खटिँदै पौडेलले स्थानीयस्तरमा महत्वपूर्ण सहयोग गरेका थिए। विपद् तथा संकटका बेला आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्ने उनको योगदान स्थानीयका लागि स्मरणीय रहेको उहाँको भनाइ छ।

स्थानीयका अनुसार रामकाजी पौडेल सरल, मिलनसार र सेवाभाव भएका प्रहरी कर्मचारी थिए। सेमजोङमा रहँदा उनले स्थानीयवासीसँग आत्मीय सम्बन्ध बनाएका थिए। उनको व्यवहार र सेवाभावका कारण उनी कार्यक्षेत्रका स्थानीयको स्मृतिमा अझै जीवित रहेको स्थानीय बताउँछन्।

रसुवाको बेत्रावतीमा प्रहरी सेवामा कार्यरत रहेका बेला आएको भीषण बाढीमा परी बेपत्ता भएका पौडेलको शव लामो खोजीपछि चितवनमा भेटिएको हो। शव फेला परेपछि परिवार, सहकर्मी तथा उनले सेवा गरेका धादिङ र नेत्रावती डबजोङ क्षेत्रका स्थानीयमा समेत शोक छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0