धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको भनिएको सेफ फेला पारी तोडफोड गरेर नगद पैसा निकाल्ने २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा सेफ फेला परेको थियो। स्थानीय केही व्यक्तिले सेफ तोडफोड गरी भित्र रहेको नगद रकम निकालेको सूचनापछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा २९ जनालाई नियन्त्रणमा लिएर उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका व्यक्तिहरू धादिङका विभिन्न स्थानका रहेका छन्। उनीहरूमध्ये गल्छी गाउँपालिका–४ मासटारका पवन पौडेलसहित विभिन्न उमेर समूहका व्यक्तिहरू छन्। त्यस्तै, गजुरी गाउँपालिका तथा सिद्धलेक गाउँपालिकाका स्थानीय र चितवन तथा पर्सा घर भएका केही व्यक्तिसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बाढीले बगाएर ल्याएको भनिएको सेफमा यति ठूलो रकम कसरी आइपुग्यो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ। बरामद रकमको वास्तविक स्रोत र घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित सेफ तथा अन्य प्रमाणसमेत संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0