नुवाकोट ,बिदुर  १५ भदौ ,२०८३

भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, अक्करेका १०० परिवारलाई लायन्स क्लब अफ धादिङ भैरवी र लायन्स क्लब अफ काठमाडौँ सूर्य मुखी तथा शितल छहारी नेपालको आयोजनामा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहितको राहत प्याकेज हस्तान्तरण गरेका छन्।

लायन्स क्लब अफ धादिङ भैरवी र लायन्स क्लब अफ काठमाडौँ सूर्य मुखीको आयोजना तथा शीतल छहारी नेपालको सह–आयोजनामा संकलित राहत सामग्री विदुर नगरपालिका–७ का वडाध्यक्ष रविन्द्र नेपाल तथा स्थानीय प्रहरी चौकीका इन्चार्जको रोहबरमा एकद्वार प्रणालीमार्फत प्रभावित परिवारलाई वितरण गर्ने गरी हस्तान्तरण गरिएको हो।

प्रत्येक परिवारका लागि तयार गरिएको राहत प्याकेजमा १५ किलो चामल, एक किलो नुन, एक प्याकेट खानेतेल, एक प्याकेट सोयाबिन, एक किलो दाल ,८० कार्टुन  पानी , हाइजिन किटलगायतका सामग्री छन्। १०० परिवारका लागि १०० थान राहत प्याकेज हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेको क्षेत्रमा तत्काल आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको लायन्स क्लब अफ काठमाडौँ सूर्य मुखीका अध्यक्ष राजाराम रिजालले बताउनुभयो।

राहत सामग्री संकलन, व्यवस्थापन तथा प्रभावित परिवारसम्म पुर्‍याउने कार्यमा कृष्ण शिशिरले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको आयोजकले जनाएको छ। स्थानीय तह, प्रहरी, लायन्स तथा सामाजिक संस्थाबीचको समन्वयमा राहत सामग्री एकद्वार प्रणालीमार्फत वितरणको व्यवस्था मिलाइएको हो।

शीतल छहारी नेपालका उपाध्यक्ष विक्रम पौडेलले विपद्का कारण प्रभावित बनेका नुवाकोटका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियानमा सहकार्य गरिएको बताउनुभयो। शीतल छहारी नेपालले यसअघि पनि धादिङलगायत विभिन्न क्षेत्रमा मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो।

राहत अभियानमा विशेष सहजीकरण गर्ने लायन्स ३२५ आई नेपालका क्याबिनेट सेक्रेटरी लायन अनुज कु. श्रेष्ठ, वडाध्यक्ष रविन्द्र नेपाल, स्थानीय प्रहरी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

राहत हस्तान्तरण कार्यक्रममा लायन्सका डिस्ट्रीक्ट डिपार्टमेन्ट चिफ तथा शीतल छहारी नेपालका अध्यक्ष कृष्णबहादुर पौडेल, रिजन चियर पर्सन कृष्णप्रसाद ढकाल, जोन चियर पर्सन बद्री अधिकारी, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष प्रकाश सापकोटा, प्रथम उपाध्यक्ष यामबहादुर श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौँ सूर्य मुखीका अध्यक्ष राजाराम रिजाल, सचिव सुदर्शन गोम्जा तथा शीतल छहारी नेपालका उपाध्यक्ष विक्रम पौडेललगायतको सहभागिता थियो।

वडा कार्यालयका अनुसार विदुर नगरपालिका–७ मा बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण १०३ जना मृत्यु तथा सम्पर्कविहीन भएका छन्। ठूलो मानवीय क्षति भएको क्षेत्रमा प्रभावित परिवारलाई तत्काल राहतसँगै आगामी दिनमा पुनःस्थापना र पुनर्निर्माणका लागि समेत थप सहयोग आवश्यक रहेको स्थानीयको भनाइ छ।

विपद्को समयमा प्रभावित परिवारको आवश्यकतालाई प्राथमिकतामा राख्दै राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने आयोजक संस्थाहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0