बद्री पौडेल , नुवाकोट ,१६ भाद्र ,२०८३
धादिङको धुवाकोट–सामरी हुँदै त्रिशूलीवारी, कोलोनी अस्पताल क्षेत्रबाट बटार, ढुङ्गे, पुल क्षेत्र, पावरहाउस हुँदै तुप्चे–अक्करेसम्म हिजो भाद्र १५ गते पुग्दा त्रिशूली नदीमा आएको भीषण बाढीले पुर्याएको विनाशको वास्तविक तस्वीर देखिन्छ। आँखाअघि देखिने दृश्य यति भयावह छ कि बाढीले बस्ती मात्रै होइन, वर्षौँदेखि निर्माण भएका सडक, पुल, घर तथा महत्वपूर्ण संरचनाको अस्तित्व नै मेटाइदिएको छ।
बाढीको चपेटामा परेको ढुङ्गे बजार अहिले पहिलेको जस्तो बजार रहेन। सयौँ घर तथा संरचना बाढीले बगाएको वा पुरेको छ। बस्ती जोड्ने सडक कतिपय ठाउँमा कहाँ थियो भन्ने समेत पहिचान गर्न कठिन छ। धादिङबाट त्रिशूलीवारी हुँदै नुवाकोटतर्फ जाने सडक खण्डमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ।
पावरहाउस क्षेत्र पुग्दा नेपालको पुरानो जलविद्युत् आयोजनामध्येको त्रिशूली जलविद्युत् गृह रहेको संरचनासमेत बाढीको विनाशबाट अछुतो रहन सकेन। बाढीले पुर्याएको क्षतिका कारण त्यस क्षेत्रको पुरानो स्वरूप नै हराएको देखिन्छ। नदीले आफ्नो बाटो बदल्दै बस्ती, सडक र संरचना तहसनहस पारेको दृश्यले विपद्को भयावहता स्पष्ट देखाउँछ।
विदुर नगरपालिका–७ तुप्चेमा मात्रै १०३ जना मृत्यु तथा बेपत्ता भएको वडा कार्यालयले जनाएको छ। वडा अध्यक्ष राजेन्द्र नेपालका अनुसार बाढीपछि ठूलो संख्यामा स्थानीय नागरिकको ज्यान गएको तथा कतिपय अझै सम्पर्कविहीन रहेका छन्।
तुप्चेमा अहिले सबैभन्दा ठूलो पीडा आफन्त गुमाएका परिवारको छ। कतिपय परिवारका सदस्य बेपत्ता छन्, उनीहरू कहाँ छन् भन्ने जानकारी छैन। कतिपयले आफ्नै आँखाअघि आफू बसिरहेको घर भत्किएको, पुरिएको वा बाढीले बगाएको देख्नुपरेको छ। घरसँगै खानेकुरा, लगाउने कपडा, खाना पकाउने भाँडाकुँडा र दैनिक जीवनका आवश्यक सामग्रीसमेत बाढीले बगाएको छ।
हिजोसम्म घरभित्र परिवारसँगै बसेका नागरिक आज खुला आकाशमुनि पुगेका छन्। आफन्तको अवस्थाबारे जानकारी छैन, घर छैन, सम्पत्ति छैन र भोलि कहाँ बस्ने भन्ने निश्चितता पनि छैन। यस्तो अवस्थामा राहतको पर्खाइमा रहेका पीडितको पीडा सामान्य राहत सामग्रीले मात्रै सम्बोधन हुने अवस्था छैन।
तुप्चे–अक्करे क्षेत्रमा धादिङका पतञ्जली टोलीका प्रमुख बद्री सुवेदीको नेतृत्वमा सामुदायिक मेस सञ्चालन भइरहेको छ। विपद्का कारण खाना पकाउने अवस्था नभएका तथा घरबारविहीन भएका नागरिकलाई सामूहिक रूपमा खाना खुवाउने व्यवस्था गरिएको छ।
यसैबीच लायन्स क्लब अफ धादिङ भैरवी, लायन्स क्लब अफ काठमाडौं सूर्यमुखी र शितल छहारी नेपालले प्रभावित क्षेत्रमा पानी, खाद्यान्न तथा हाइजिन किटलगायत सामग्री पुर्याएका छन्। प्रारम्भिक राहतबाट केही सहयोग पुगे पनि प्रभावितको आवश्यकता भने अझै ठूलो छ। थप राहत सामग्री पठाउने क्रम जारी छ।
तर राहत लैजानु आफैंमा ठूलो चुनौती बनेको छ। तुप्चे–अक्करेभन्दा माथिल्लो क्षेत्रतर्फ जाने सडक बाढीले ध्वस्त पारेपछि स्थलमार्गबाट राहत तथा उद्धार सामग्री पुर्याउन कठिन भएको छ। पुरानो सडकको धेरै ठाउँमा नामोनिसानसमेत छैन। सडक सञ्चालनका लागि काम सुरु गरिए पनि बाढीले सडकको संरचना नै बगाएकाले तत्काल यातायात सञ्चालन गर्न सहज देखिँदैन। नुवाकोटको अवस्था भन्दा रसुवाको अवस्था झनै जटिल छ ,बेत्रावती एरियामा ठूलो क्षति भएको छ आज सम्म पनि उद्दार हेली मार्फत मात्र भएको छ ।
सडक नहुँदा माथिल्लो प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि हेलिकोप्टरको विकल्प सीमित भएको छ। तर सबै प्रभावित परिवारसम्म हेलिकोप्टरबाट मात्रै आवश्यक सामग्री पुर्याउन सम्भव नहुने भएकाले सडक तथा वैकल्पिक पहुँच मार्ग तत्काल निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ।
स्थलगत अवस्थाले अर्को गम्भीर प्रश्न पनि उठाएको छ—विपद्पछिको राहत र उद्धारमा राज्यको समन्वय र परिचालन कति प्रभावकारी छ? विभिन्न निकाय र संघसंस्थाले आ–आफ्नो क्षमताअनुसार काम गरिरहेका छन्। प्रयास भइरहेका छन्। तर यति ठूलो क्षति भएको क्षेत्रमा उपलब्ध स्रोतसाधनलाई एकीकृत गरेर पीडितसम्म तीव्र गतिमा पुर्याउने प्रभावकारी संयन्त्र अझै कमजोर देखिन्छ।
सरकारी खातामा विपद् व्यवस्थापनका लागि अर्बौँ रुपैयाँ उपलब्ध रहेको अवस्थामा पनि घरबारविहीन नागरिक खानेकुरा, कपडा र सामान्य दैनिक आवश्यकताका सामग्रीको अभावमा बस्नुपर्ने अवस्था आउनु गम्भीर प्रश्न हो। राहतका लागि रकम र स्रोत उपलब्ध हुनु मात्रै पर्याप्त होइन, त्यो रकम र स्रोत पीडितको हातसम्म कति छिटो र प्रभावकारी रूपमा पुग्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।
अहिले तुप्चे, अक्करेदेखि त्रिशूली क्षेत्रका प्रभावित नागरिक राहतको प्रतीक्षामा मात्रै छैनन्, उनीहरू बेपत्ता आफन्तको खोजी, सुरक्षित बसोबास र पुनःस्थापनाको प्रतीक्षामा छन्। घर गुमाएका परिवारलाई अस्थायी आश्रय चाहिएको छ। बेपत्ता आफन्तको खोजी तत्काल आवश्यक छ। सडक र सञ्चार सम्पर्क पुनःस्थापित गर्नुपर्ने छ। स्वास्थ्य तथा सरसफाइको जोखिम पनि उत्तिकै बढेको छ।
त्यसमाथि वर्षा अझै पूर्ण रूपमा रोकिएको छैन। त्रिशूली नदीमा फेरि ठूलो बाढी आउला कि भन्ने त्रास प्रभावित नागरिकको मनबाट हटेको छैन। एउटा बाढीले घर, सम्पत्ति र आफन्त खोसेको अवस्थामा अर्को बाढीको सम्भावनाले उनीहरूलाई थप त्रसित बनाएको छ।

धादिङको धुवाकोट–सामरी हुँदै त्रिशूलीवारीबाट नुवाकोटको ढुङ्गे, पावरहाउस, तुप्चे र अक्करेसम्मको यात्रा अहिले एउटा प्राकृतिक विपत्तिले कति ठूलो मानवीय र भौतिक संकट निम्त्याउन सक्छ भन्ने जिउँदो प्रमाण बनेको छ। बाढीले छोडेको भग्नावशेषबीच उभिएका नागरिकको प्रश्न एउटै छ—अब राज्य कहिले र कति प्रभावकारी रूपमा उनीहरूको साथमा उभिन्छ?






