काठमाडौं ,२०८३ भाद्र २० गते

गृह मन्त्रालयले १८ भदौमा निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको व्यापक जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ।

निर्णयअनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेत सरुवा गरिएको छ।

यस्तै जाजरकोटका प्रजिअ खडानन्द अधिकारीलाई बाराको प्रजिअ, बाराका प्रजिअ धर्मेन्द्रकुमार मिश्रलाई गोरखा, रोल्पाका प्रजिअ गंगाबहादुर क्षेत्रीलाई पर्वत र पर्वतका प्रजिअ लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रजिअ बनाइएको छ। खोटाङकी प्रजिअ रेखा कँडेललाई दोलखाको प्रजिअको जिम्मेवारी दिइएको छ।

गोरखाका प्रजिअ तुलसीबहादुर श्रेष्ठ, दोलखाका प्रजिअ हरिप्रसाद घिमिरे र रौतहटका प्रजिअ दिनेश सागर भुसाललाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ।

अध्यागमनतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का वेदराज फुयाँललाई डडेलधुराको प्रजिअ बनाइएको छ। डडेलधुराका प्रजिअ अमरबहादुर वलीलाई बाँकेको सहायक प्रजिअको जिम्मेवारी दिइएको छ।

उपसचिवतर्फ गृह मन्त्रालयका कुलशेखर अर्याललाई भोजपुरको प्रजिअ, बाँकेका सहायक प्रजिअ महेशकुमार गुरुङलाई खोटाङको प्रजिअ तथा बन्दना केसीलाई सल्यानको प्रजिअ बनाइएको छ। गणेश गैरैलाई म्याग्दी र बागलुङका सहायक प्रजिअ नवराज बराललाई जाजरकोटको प्रजिअको जिम्मेवारी दिइएको छ।

यसैगरी भैरहवा विमानस्थलका प्रमुख अध्यागमन अधिकृत बलराम निरौला र सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभाग, काठमाडौंमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको पछिल्लो निर्णयसँगै जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रमुख प्रशासनिक नेतृत्वमा व्यापक फेरबदल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0