धादिङ ,२६ भाद्र ,२०८३
हिन्दू धर्मावलम्बीहरूले वर्षभरि गरिने धार्मिक तथा शुभकार्यमा आवश्यक पर्ने पवित्र कुश आज घर–घरमा भित्र्याउँदै छन्। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसीका अवसरमा शास्त्रोक्त विधिअनुसार कुशको पूजा गरी घरमा भित्र्याउने परम्परा छ।
हिन्दू धर्मशास्त्रमा कुशलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ भने भगवान् श्रीविष्णुको प्रतीकसमेत मानिन्छ। घरमा राखिएको कुश वर्षभरि गरिने पूजा, धार्मिक अनुष्ठान तथा पितृकार्यमा प्रयोग गर्ने गरिन्छ।
कुशे औँसीकै दिन बुबाको मुख हेर्ने दिन पनि मनाइन्छ। यस अवसरमा छोराछोरीले बुबालाई सम्मान तथा मिठामिठा परिकार खुवाएर आशीर्वाद लिने प्रचलन छ। बुबा दिवंगत भइसकेकाहरूले भने उहाँको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने गर्छन्।
कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनका अवसरमा आज विभिन्न स्थानमा धार्मिक गतिविधिसमेत भइरहेका छन्।






