नुवाकोट । डिस्कभरी वर्ल्ड ट्रेकिङले भोटेकोसी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गे र वडा नं. १० गेर्खुटारस्थित होल्डिङ सेन्टरमा बस्दै आएका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
कम्पनीले करिब १०० घरपरिवारलाई झन्डै १० लाख रुपैयाँ बराबरका अत्यावश्यक किचन सामग्री, सिरक–डसना तथा अन्य लत्ताकपडा वितरण गरेको हो। बाढीका कारण परिवारका सदस्यहरु, घर तथा दैनिक जीवनयापनका सामग्री गुमाएका पीडित परिवारलाई राहत सामग्री उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन्। राहत सामग्री प्राप्त गरेका स्थानीयले यसअघि आफूहरूले यस्तो प्रकृतिको राहत सामग्री नपाएको बताउँदै सहयोगका लागि डिस्कभरी वर्ल्ड ट्रेकिङप्रति आभार व्यक्त गरेका छन्।
नेपालको पर्यटन क्षेत्रमा परिचित डिस्कभरी वर्ल्ड ट्रेकिङका प्रमुख संस्थापक तथा सञ्चालक पल गुरुङ स्वयं राहत वितरण कार्यक्रममा सहभागी हुनुभएको थियो। कम्पनीले यसअघि पनि २०७२ सालको भूकम्प, कोभिड–१९ महामारीलगायत विभिन्न विपद्का समयमा तथा दुर्गम क्षेत्रका नागरिकलाई सहयोग गर्दै आएको जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रमुख गुरुङले गरिएको सहयोग सानो भए पनि भोटेकोसी बाढी तथा पहिरोबाट प्रभावित स्थानीयको पीडामा केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सामग्री उपलब्ध गराउनु सामाजिक उत्तरदायित्वसमेत भएकाले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।







